शेयर बजारमा निराशा: लगानीकर्ताको मनोबल कमजोर हुँदा गुम्दै लगानी, किन खुम्चिदै छ मार्केट ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । लगातार तिन दिन बजार राताम्य रहँदै भएको हो । पछिल्लो समय बजारमा निरन्तर उतारचढाव देखिन थालेको छ जसले साना र अनुभवहीन लगानीकर्तालाई फस्ने जोखिम बढाएको छ । बजार बढ्दा आशावादी भएर शेयर खरिद गर्ने र घट्दा अति आत्तिएर बिक्री गर्ने लगानीकर्ताको व्यवहारले गर्दा लगानी अलपत्र पर्ने अवस्था देखिएको छ ।
थोरै नाफा देखिए लगानीकर्ताले शेयर बुक गर्ने प्रवृत्ति बढ्दा बजारमा बिक्री दबाब बढेको छ । लगानीकर्ताको मनोबल कमजोर हुनु बजारमा लगातार ओरालो लाग्ने प्रमुख कारण हो भन्ने विशेषज्ञहरूको भनाइ छ । यसले बजारमा अस्थिरता बढाएको छ र छोटो अवधिमा नाफा कमाउने लगानीकर्तालाई जोखिममा पारिरहेको छ ।
शेयर बजारको अस्थिरतामा माफिया तथा ठूला लगानीकर्ताको चलखेलले समेत भूमिका खेलेको बताइन्छ । त्यसमाथि राजनीतिक अस्थिरता कायम रहँदा तोकिएको समयमा निर्वाचन हुने कि नहुने अनिश्चितताले लगानीकर्तामा जोखिम लिने डर थप बढाएको छ। यसकारण बजारमा लगानीकर्ताको विश्वास अझै कायम हुन सकेको छैन ।
साथै, बैंक तथा वित्तीय संस्थाको प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भइसकेको छ । राजनीतिक अस्थिरता र आन्दोलनले बैंकको नाफा घट्दै गएको छ भने खराब कर्जा निरन्तर बढिरहेको छ । यसले लगानीकर्ताको मनोबल अझ कमजोर बनाएको छ र बजारमा अस्थिरता थप गहिरो भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८० अकंले घटेर २५६०.२९ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.६० प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको ०.७५ प्रतिशत, हाइड्रोपावर समूहको ०.१० प्रतिशत, जीवन बीमा समूहको ०.२६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

सोमबार ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको घट्न पुगेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।













