आज महागुरु फाल्गुनन्दको १४१औं जयन्ती

काठमाडौं । आज कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्ती विशेष गरी किराँत धर्मावलम्बीहरूले हर्षाेल्लासका साथ मनाउँदैछन्।
१९४२ साल कात्तिक २५ गते पूर्व नेपालको ईलाममा जन्मेका फाल्गुनन्दसँग अद्भूत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ। उनले पूर्वी नेपालका विभिन्न ठाउँहरूमा मग हिम मन्दिरको स्थापना गर्न विशेष योगदान पुर्याएका थिए।
पूर्वी नेपालका पहाडी जिल्लाहरूमा बसोबास गर्ने अन्यन्त शालीन र प्रकृति प्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउँदै शिक्षाको प्रार्दुभाग गर्न फाल्गुनन्दको विशेष भूमिका रहेको मानिन्छ।
फाल्गुनन्दलाई नेपाल सरकारले वि.स २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनको सम्मान स्वरूप पाँचथरमा फाल्गुनन्द गाउँँपालिका भनेर नामाकरण समेत गरिएको छ।
हत्या/हिंसाका विरोधी, सत्य वचन र धर्म कर्ममा निष्ठ र समाज सुधारकको छवी बनाएका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा विशेष गरी किराँत धर्मावलम्बीहरूले धुमधामका साथ यो पर्व मनाउँने गर्छन्।













