सूर्याेदय वोमी लघुवित्तले तीन महीनामा कमायो ६ करोड २४ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमै ६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको तीन महीनाको अवधिमा ४ करोड ७१ लाख रुपैयाँ खुद घाटा बेहोरेको कम्पनीले यस वर्ष भने नाफा कमाउन सफल भएको हो।
गत आवको असोज मसान्तसम्म ८ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको असोज मसान्तसम्म १३८.३७ प्रतिशतको छलाङ मार्दै २० करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ११ करोड ५० लाख रुपैयाँबाट १०७.४४ प्रतिशतको उच्च वृद्धि सहित २३ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने गत आवमा ४ करोड ७१ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेकोमा यस वर्ष ८ करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।
योसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि गत वर्षको तीन महीनामा १८.०८ रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा २२.५८ रुपैयाँ धनात्मक रहेको छ। खराब कर्जा ६.३० प्रतिशतबाट घटेर ५.६४ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १५०.९२ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ८७ लाख रुपैयाँ र रिजर्भ कोषमा ४० करोड ४४ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ११ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५ अर्ब ७३ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।













