राताम्य पुँजी बजारः निरन्तरको गिरावटले आत्तिए लगानीकर्ता, चलखेल त होइन ?

२६ कार्तिक २०८२, बुधबार १५:०६

काठमाडौँ । पुँजी बजार आज दोहोरो अंकले घट्दै राताम्य भएको छ । मंगलबार केही सुधार देखिए पनि आजको बजारले पुनः गिरावट आएको हो ।

लगानीकर्ताले नयाँ उचाइमा पुग्ने आशामा लगानी गर्दा समेत पुँजी बजारको अस्थिरताले उनीहरूलाई निराश बनाएको छ । बजारमा सुधारका संकेत देखिए पनि सकारात्मक माहोल फैलिन सकेको छैन । लगातार उतारचढाव, साना तथा अनुभवहीन लगानीकर्ताको हडबडी र बजार बढ्दा उत्साहित, घट्दा आत्तिने प्रवृत्तिले पूँजी अलपत्र परेको विश्लेषकहरूले बताएका छन् ।

साथै, माफिया समूह र ठूला लगानीकर्ताको चलखेलले बजारको अस्थिरता अझ गम्भीर बनाएको आशंका गरिएको छ ।  त्यसमाथि राजनीतिक अस्थिरता कायम रहँदा तोकिएको समयमा निर्वाचन हुने कि नहुने अनिश्चितताले लगानीकर्तामा जोखिम लिने डर थप बढाएको छ। यसकारण बजारमा लगानीकर्ताको विश्वास अझै कायम हुन सकेको छैन ।

यसबीच, बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिक विवरण सार्वजनिक भइसकेको छ। राजनीतिक अनिश्चितता र आन्दोलनका कारण धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको देखिन्छ । यसले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै बजारमा नकारात्मक प्रभाव पु¥याएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७८ अकंले घटेर २५४३.३७ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको ८३ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा राताम्य लागेको छ । आज वाणिज्य बैंक समूहको ०.६७ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको ०.७९ प्रतिशत, होटल तथा पयर्टन समूहको ०ं.१८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

बुधबार ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*