मुक्तिनाथ विकास बैंक ऋणी ठग्दै, होस् गर्नुस् कतै तपाई पनि ठगिनु भएको त छैन ?

काठमाडौँ । वाणिज्य बैंक बन्ने तयारीमा जुटेको मुक्तिनाथ विकास बैंकले ग्राहकलाई गुमहरामा राख्दै ठगी धन्दा चलाइरहेको खुलासा भएको छ । नवलपरासीको गैडाकोट–५ निवासी ख्याम नारायण पराजुलीले लिएको ऋण चुक्ता गर्दा उनले नलिएको कर्जासमेत देखाई बैंकले लाखौँ रुपैयाँ असुल गरेको पीडितले गुनासो गरेका छन् ।
पराजुलीले मुक्तिनाथ विकास बैंकको नारायणघाट शाखाबाट २०७० सालमा घर निर्माणका लागि १९ लाख ५० हजार रुपैयाँ र २०७४ सालमा व्यवसाय विस्तारका लागि थप ४० लाख रुपैयाँ कर्जा लिएका थिए । त्यसपछि कोरोना महामारीका बेला व्यवसाय ठप्प हुँदा बैंकको ‘कोभिड प्रोटेक्सन’ अन्तर्गत उनले ८ लाख रुपैयाँ कर्जा थप लिएका थिए । मुक्तिनाथ विकास बैंकले चर्को ब्याज दर लगाएपछि पराजुलीको उठिबास हुने देखेर सम्पत्ति बिक्री गरी ऋण चुक्ता गर्ने निर्णयमा पुगे ।
तर व्यवसायमा घाटा बढ्दै गएपछि २०७९ साल पुस मसान्तसम्म सम्पत्ति बेचेर सम्पूर्ण ऋण चुक्ता गर्ने निर्णयमा पुगे । उनले आफ्नो सम्पत्ति विक्री गरी प्राप्त रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरे र उक्त रकमबाट बैंकको सम्पूर्ण कर्जा तिर्ने तयारी गरे । तर, बैंकले कुनै सूचना नदिई उक्त खाताबाट असुल गर्नुपर्ने भन्दा १२ लाख रुपैयाँ बढी तानेर ठगी गरेको छ ।
पीडित पराजुलीले बीमापोष्टसँग गुनासो गर्दै भने, ‘मैले सम्पत्ति बेचेर सबै ऋण चुक्ता गर्ने निर्णय गरे । त्यसका लागि व्यक्तिगत खातामा रकम जम्मा गरे । तर बैंकले मलाई जानकारी नदिई १२ लाख रुपैयाँ बढि रकम तान्यो । मैले तिर्नु पर्नेभन्दा बढी रकम तानिएको देखेपछि शाखा प्रमुखलाई सोध्दा उनले ‘मिलाउँछौं’ भनेर लामो समयसम्म झुलाइरहे ।’
आफू ठगिएको र बैंकले अनाधिकृत रुपमा तानेको थप १२ लाख रुपैयाँ रकमबारे कुनै स्पष्टता नआएपछि पराजुलीले बैंकसँग सम्पूर्ण विवरण मागे । बैंकले दिएको स्टेटमेन्ट हेर्दा उनी चकित परे किनभने उक्त विवरणमा उनले लिँदै नै नलिएको नयाँ कर्जा देखाइएको थियो । उनले भने, ‘स्टेटमेन्टमा मैले नलिएको कर्जा देखाएर पैसा काटेको रहेछ । यस्तो ठगी देखेपछि मैले बैंकसँग विरोध गरे । तर, बैंकले न प्रमाण देखायो, न रकम फिर्ता ग¥यो । आजसम्म फिर्ता गरेको छैन ।’
उनले बारम्बार बैंकसँग कर्जा लिएको प्रमाण तमसुक, हस्ताक्षर, छाप वा आधिकारिक कागजात देखाउन आग्रह गरे । तर, बैंकले अहिलेसम्म कुनै प्रमाण नदिएको उनको गुनासो छ । उनले भने, ‘मैले आधिकारिक प्रमाण मागे, तर बैंकले कहिल्यै देखाएन । यस्तो अवस्थाले मेरो परिवारमा गहिरो तनाव सिर्जना भयो । त्यही तनावकै कारण मेरी श्रीमतीको निधन भयो । बैंकले न त प्रमाण देखायो न त मसँग अन्यायको क्षतिपूर्ति ग¥यो ।’
श्रीमतीको निधनपछि पराजुलीले बैंकको मुक्तिनाथ माइक्रोफाइनान्स अन्तर्गतको लघु उद्यमी कर्जामा समेत बेइमानी भइरहेको बताए । श्रीमतीको नाममा लघु उद्यमी कर्जा लिएका भएपनि सदस्यको निधन भएमा बीमा, ग्राहक संरक्षण कोष वा राहत कोषबाट कर्जा मिनाहा हुने व्यवस्था छ । ‘मैले सबै कागजात बुझाए, मृत्यु प्रमाणपत्रदेखि सदस्यता विवरण सबै बुझाए । तर, बैंकले अहिले त्यो कर्जा मिनाहा गर्न तयार छैन । बरु, मसँगको पुरानो विवादका कारण रिस राखेर त्यसलाई रोकिरहेको छ’ पराजुलीले भने ।
पराजुलीले थपे, ‘मुक्तिनाथ माइक्रोफाइनान्सको नीति अनुसार मृत सदस्यको ऋण मिनाहा हुनु पर्ने हो, तर बैंकले उल्टै मलाई धम्की दिइरहेको छ । तपाईंले लिएको कर्जामा बैंकबाट बढी काटिएको १२ लाख रुपैयाँको कुरा नउठाउनुहोस्, अनि मात्र श्रीमतीको कर्जा मिनाहा हुन्छ, नत्र कालो सूचीमा राखिन्छ ।’ मृतकको नाममा भएको कर्जा मिनाहा गर्ने सट्टा बैंकले सम्झौता गर्न बाध्य पार्दै आइरहेको छ ।
सो गुनासो लिएर पराजुलीले राष्ट्र बैंकमा उजुरी समेत दिएका छन् । तर, लामो समयसम्म समेत केन्द्रिय बैंकले गठी धन्दामाथि अनुसन्धान गर्ने सकेको छैन । नेपाल राष्ट्र बैंकका कर्मचारीहरु नै बैंकका उच्च अधिकारीहरुसँगको उठबस र घुस सेटिङमा यस्ता मुद्दाहरुको सही तहकिकात नै नगर्ने गरेको गुनासो पीडितहरुको छ । यसअघि प्राइम बैंकमा समेत यस्तै घटना घटेको थियो ।
यसविषयमा बैंकसँग नारायणघढ शाखासँग सम्पर्क गर्ने खोज्दा आफुले बोल्न नमिल्ने भन्दै कुरा टारेर बसेको छ । केन्द्रिय कार्यालयका सूचना अधिकारी तिल बहादुर गुरुङलाई सम्पर्क गर्ने खोज्दा उनी सम्पुर्ण प्रमाण दिने बताए पनि पछि सम्पर्कमा नै आउन चाहेनन् ।
मुक्तिनाथ विकास बैंकका केही शाखामा यस किसिमका गुनासो बढ्दै गएका छन् । बैंकले लिएको भन्दा बढी रकम असुल गर्ने, अनावश्यक शुल्क लगाउने र कर्जा चुक्ता भएपछि समेत स्टेटमेन्टमा भ्रम फैलाउने प्रवृत्ति बढ्दै जाँदा समेत केन्द्रीय बैंक मौन रहँदै आएको छ । प्रभावकारी नियमनको अभावमा बैंक तथा वित्तीय संस्थाले ग्राहक गर्ने अत्याय र अत्याचारका बारे कसले छानविन गर्ने समस्या उत्पन्न हुन आएको छ ।













