नक्कली सर्टिफिकेटले जागिर खाएको आरोपमा शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सर्टिफिकेटले जागिर खाएको आरोपमा दीपिनी आधारभूत विद्यालयका शिक्षक देवी निरौलामाथि भ्रष्टाचारको मुद्दा चलाएको छ।
झापाको दमक नगरपालिका–५ स्थित दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाले भारतबाट नक्कली सर्टिफिकेट पेश गरी जागिर खाएको उजुरी अख्तियारमा परेपछि छानबिन भएको थियो।
छानबिनको क्रममा उनले वि.सं. २०५५ सालमा दीपिनी आधारभूत विद्यालयमा प्रा.वि. तहको शिक्षकको अस्थानी नियुक्ति लिएरको र पछि भारतको नक्कली सर्टिफिकेट पेश गरी सोही विद्यालयमा वि.सं. २०७५ चैत २८ गते स्थायी नियुक्ति लिई हाल प्रा.वि. तहको तृतीय श्रेणीमा कार्यरत रहेको खुल्न आएको छ।
उनले पेश गरेको भारतस्थित पटनाको बिहार संस्कृत शिक्षा बोर्डबाट जारी भएको मध्यम तहको परीक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र चेकजाँच गर्ने क्रममा नक्कली रहेको खुलेपछि अख्तियारले मुद्दा चलाएको हो।
अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा निरौलाले नक्कली प्रमाणपत्र पेश गरी तलब, भत्ता सहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुविधा प्राप्त गरी भ्रष्टाचार गरेकाले सजाय र जरीवाना माग गरिएको उल्लेख छ।













