शेयर बजारबाट बैंकको आम्दानी साढे २ अर्बः ग्लोबल र आरबिबि अग्रस्थानमा, आक्रामक लक्ष्मी सनराइज र हिमालयन

२७ कार्तिक २०८२, बिहीबार १२:४१

काठमाडौँ । तीन महिनाको अवधिमा बैंकहरुले शेयर बजारबाट साढे २ अर्ब रुपैयाँ बढीको आम्दानी गरेका छन् । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर बजारबाट २ अर्ब ६४ करोड ३६ लाख ७ हजार रुपैयाँ आम्दानी गरेका हुन् ।

बैंकहरुले गरेको आम्दानी गत आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्मको तुलनामा २३.७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले शेयर बजारबाट २ अर्ब १३ करोड ६६ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि शेयर बिक्रीसम्बन्धी नीति सहज बनाएको छ । बैंकहरूले एक वर्ष पूरा भइसकेको लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म शेयर बिक्री गर्न पाउने भएका छन् । यसअघि यस्तो बिक्री सीमित गरी १ प्रतिशत मात्र अनुमति दिइएको थियो । नियामक संस्थाको यस निर्णयपछि बैंकहरूलाई शेयरलगायत अन्य लगानीबाट पर्याप्त आम्दानी गर्ने अवसर खुला भएको छ, जसले उनीहरूको नाफा र लगानी व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

बैंकहरूले शेयर बिक्री तथा लगानीबाट हुने आम्दानीलाई ‘नेट ट्रेडिङ इनकम’ शीर्षकमा लेखा विवरणमा समेट्ने गर्छन् । यस सूचकमा विदेशी मुद्राको कारोबार, विशेष गरी अमेरिकी डलर खरिद–बिक्रीबाट प्राप्त आम्दानी पनि समावेश हुने भएपनि डलर सटहीभन्दा शेयर कारोबारबाट हुने आम्दानी बढी रहने भएकाले यो सूचक मुख्यतया शेयर लगानीको प्रतिफलका रूपमा बुझिन्छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्क अनुसार शेयर बजारबाट सबैभन्दा धेरै आम्दानी गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । यसअवधिमा बैंकले २८ करोड ४२ लाख ६६ हजार रुपैयाँ शेयर बजारबाट कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६७.३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १६ करोड ९८ लाख २५ हजार रुपैयाँ पुँजी बजारबाट कमाएको हो ।

शेयर बजारबाट सर्वाधिक धेरै आम्दानी गर्ने दोस्रो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २२ करोड ६१ लाख ७६ हजार रुपैयाँ रहेको छ। गत वर्षको सोहि अवधिमा भने बैंकको शेयर बजारबाट हुने आम्दानी १ करोड रुपैयाँ ऋणात्मक रहेको थियो ।

नबिल बैंकले शेयर बजारबाट हुने आम्दानी २९.८९ प्रतिशतले बढाएर २२ करोड ५० लाख रुपैयाँ पुराएको छ । शेयर बजारबाट सर्वाधिक आम्दानी गर्नेमा नबिल तेस्रो नम्बरमा रहेको छ ।

मार्केटबाट सर्वाधिक कमाई वृद्धि गर्नेमा लक्ष्मी सनराइज र हिमालयन बैंक रहेको छन् । लक्ष्मी सनराइज बैंकको शेयर बजारबाट हुने आम्दानी १९३.७३ प्रतिशतले बढेर २१ करोड ४४ लाख र हिमालयन बैंकको १०९ प्रतिशतले बढेर २० करोड ६१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, तीन महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर बजारबाट हुने आम्दानी ७२ प्रतिशतले बढेर १९ करोड ३८ लाख, स्टान्र्डड चार्टड बैंकको १८ प्रतिशतले बढेर १९ करोड १५ लाख, सानिमा बैंकको १० प्रतिशतले घटेर १६ करोड ८८ लाख, एनएमबि बैंकको ७३ प्रतिशतले बढेर १६ करोड ५८ लाख, एभरेष्ट बैंकको २३ प्रतिशतले बढेर १४ करोड ९५ लाख, कुमारी बैंकको ७४ प्रतिशतले बढेर १४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्मको अवधिमा शेयर बजारबाट प्रभु बैंकले १२ करोड ८७ लाख, सिटिजन्स बैंकले १० करोड, सिद्धार्थ बैंकले ९ करोड ८० लाख, प्राइम बैंकले ८ करोड ६२ लाख, माछापुच्छ्रे बैंकले ७ करोड ९० लाख, एनआईसी एशिया बैंकले ४ करोड ८३ लाख र नेपाल बैंकले ३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

समिक्षा अवधिमा कृषि विकास बैंकको शेयर बजारबाट हुने आम्दानी भने ऋणात्मक देखिएको छ । बैंकको बजारबाट हुने आम्दानी १६ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*