सुस्त पुँजी बजारः निरन्तर डुब्दै लगानीकर्ताको लगानी, किन बजार अनिश्चित बाटोमा ?

काठमाडौँ । पुँजी बजारमा बुधबार दोहोरो अंकले घटेको स्थिति पछि आज झिनो सुधार आएको छ । पछिल्ला केही दिनदेखि बजार सुस्त गतिमा रहेको छ भने लगानीकर्ताले नयाँ उचाइको अपेक्षामा लगानी गर्दा पनि अस्थिरताका कारण निराश भएका छन् । बजारमा सुधारका केही संकेत देखिए पनि सकारात्मक माहोल फैलिन सकेको छैन ।
लगातार उतार–चढाव, साना तथा अनुभवहीन लगानीकर्ताको हडबडी, बजार बढ्दा उत्साहित र घट्दा डराउने प्रवृत्तिले पूँजी अलपत्र परेको छ । त्यसमाथि माफिया समूह र ठूला लगानीकर्ताको चलखेलले बजार अस्थिर बनाएको आशंका गरिएको छ। राजनीतिक अस्थिरताले पनि लगानीकर्तामा जोखिम लिने डर बढाएको छ ।
यसबीच, बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिक विवरणले राजनीतिक अस्थिरता र आन्दोलनका कारण धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको देखाएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै बजारमा नकारात्मक प्रभाव पारेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३१ अकंले बढेर २५४४.९१ बिन्दुमा कायम भएको छ । आज३२९ कम्पनीको ७६ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ६ उपसूचक घटेको छ भने ७ उपसूचकमा हरियाली देखिएको छ । आज निर्जीवन बीमा समूहको शेयर सर्वाधिक घटेको छ भने व्यापार समूहको बढेको छ ।

बिहिबार १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।













