शिखर नगरपालिकाले आफ्नै अस्पताल बेवास्ता गर्दै बाहिरी अस्पतालमा बजेट खर्च, स्थानीय असन्तुष्ट

२८ कार्तिक २०८२, शुक्रबार १७:५५

काठमाडौँ । डोटीको शिखर नगरपालिकाले आफ्नै क्षेत्रभित्रका आधारभूत पूर्वाधार र सेवामूलक संस्था सुधार गर्नुपर्ने बेलामा बाहिरी क्षेत्रका अस्पतालमा बजेट छुट्याएको पाइएको छ । नगरपालिकाले दिपायल सिलगढी नगरपालिका भित्र पर्ने सु-जुङ्ग सामुदायिक अस्पतालमा जाने बाटो मर्मतका लागि ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको खुलासा भएको हो ।

सु-जुङ्ग अस्पताल सामुदायिक स्वामित्वमा सञ्चालित अस्पताल हो । तर, शिखर नगरपालिकाले आफ्नो क्षेत्रभन्दा बाहिर पर्ने उक्त अस्पतालमा ‘सु-जुङ्ग अस्पताल सडक मर्मत’ शीर्षकमा बजेट हालेको तथ्य सार्वजनिक भएपछि स्थानीयहरूबीच असन्तुष्टि चुलिएको छ ।

नगरपालिकाले सो रकममध्ये २ लाख रुपैयाँ नेपाल सरकारको समानिकरण अनुदान अन्तर्गत, १ लाख रुपैयाँ सुदूरपश्चिम प्रदेश सरकारको समानिकरण अनुदानबाट र बाँकी ५० हजार रुपैयाँ नगरपालिकाको आफ्नै आन्तरिक स्रोतबाट छुट्याएको देखिन्छ । स्थानीय स्रोत सीमित र राजस्व संकलन कमजोर रहेको बेला नगरपालिकाले बाहिरी क्षेत्रका आयोजनामा रकम छुट्याएको विषयले पारदर्शिता र प्राथमिकतामाथि प्रश्न उठाएको छ ।

नगरको आन्तरिक स्रोत विस्तार गर्नुपर्ने, विद्यालय र स्वास्थ्य चौकीहरूको अवस्था सुधार गर्नुपर्ने र अपूर्ण अवस्थामा रहेको शिखर अस्पताललाई सञ्चालनमा ल्याउनुपर्ने बेला शिखर नगरपालिकाले अन्य पालिकामा पर्ने अस्पतालको सडक मर्मतका लागि रकम छुट्याएको विषयमा स्थानीयहरूले आलोचना गरेका छन् ।

पत्रकार तथा स्थानीय राम हरि ओझाले सामाजिक सञ्जालमा ब्यङ्ग्यात्मक टिप्पणी गर्दै लेखेका छन्, ‘जे होस्, मेरो नगरपालिकाको भूगोल राजपुरसम्म बिस्तार भएछ । साविकको क्षेत्रीय सदरमुकाम, उच्च अदालत, सेती सभाहत र प्रदेशस्तरीय कार्यालयहरू समेत हाम्रो नगरपालिकामा परेपछि अब विकासको ढोका खुल्यो । सबै शिखरवासीलाई हार्दिक बधाई छ ।’

त्यसैगरी, नेकपा एमाले डोटी जिल्ला कमिटीका पूर्व सचिव शेर मल्लले पनि नगरको बजेट वितरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ‘शिखर नगरपालिकाले अहिले आफ्नो क्षेत्रका समस्या समाधान गर्नुभन्दा बाहिरी क्षेत्रको विकासमा चासो देखाएको छ । हाम्रो आफ्नै अस्पताल अझै अपूर्ण छ । वडागत स्वास्थ्य चौकिहरूको अवस्था पनि निकै कमजोर छ । शिक्षाको अवस्था तेस्तै छ । त्यस्तो अवस्थामा हाम्रो नाममा आएको बजेट अन्य पालिकामा लगेर खर्च गर्नुको औचित्य छैन ।’

यसबीच नगर प्रमुख दिर्घ बलायरले भने उक्त बजेट विनियोजन गरिएको पुष्टि गर्दै त्यसको बचाउ गरेका छन् । उनले भने, ‘सु–जुङ्ग अस्पताल जिल्लाको प्रमुख अस्पताल हो । हाम्रो नगरका बासिन्दा पनि उपचारका लागि सोही अस्पतालमा पुग्छन् । कहिलेकाहीँ आर्थिक अभावका कारण उपचारमा समस्या पर्ने भएकाले मैले अस्पतालसँग छुटको व्यवस्था गर्न आग्रह गरेको हुन्छ । त्यसबापत अस्पतालले पनि सहयोग गरेको छ । त्यसैले स्थानीयहरूको हितका लागि नै बजेट हालेको हुँ ।’

सो रकम कुनै व्यक्ति वा संस्थालाई लाभ पु-याउनका लागि नभई जनहितका उद्देश्यले छुट्याइएको नगर प्रमुख बलायरले बताए । ‘अस्पतालले हाम्रो नगरका ब्यक्तिहरुलाई ठुलो राहत दिएको छ । आर्थिक रुपमा कमजोर भएका ब्यक्ति पनि सो क्षेत्रमा जाने गर्छन् । कहिले काही सानो तिनो रकमले उपचार रोकिन्छ । मैले अस्पातललाई भनि रहेको हुन्छु । अस्पतालले २० देखि ४० प्रतिशत छुट समेत दिएको छ । तेति राहत दिएको अस्पताललाई रकम दिनु आफैमा गलत होइन’ बलायरले भने, ‘यो विरोधका लागि विरोध भइरहेको छ । यो जनताको सेवाका लागि दिएको बजेट हो । सामुदायिक अस्पताल हो । नेपाल सरकारले पनि सहयोग गरेको छ ।’

तर, नगरभित्रकै आधारभूत आवश्यकता र अपूर्ण परियोजनाहरूलाई बेवास्ता गर्दै बाहिरी क्षेत्रमा बजेट लगानी गर्नु नगरको नीति र प्राथमिकतासँग मेल नखाने भन्दै सर्वसाधारणले प्रश्न उठाएका छन् । नगरपालिकाले जनताको सरोकारका कामलाई प्राथमिकता नदिएर राजनैतिक वा व्यक्तिगत सम्बन्धका कारण बजेट वितरण गर्ने अभ्यास गरेको स्थानियहरुको भनाइ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*