गार्डियन माइक्रो लाइफको नाफा ३३ प्रतिशत बढ्यो, आम्दानीमा उच्च वृद्धि

२८ कार्तिक २०८२, शुक्रबार ०९:३३

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३३.६६ प्रतिशतले बढेको हो।

गत आवको असोज मसान्तसम्म यस कम्पनीले ५३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा चालू आवको असोज मसान्तसम्म ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५ करोड १३ लाख ८२ हजार रुपैयाँबाट ११९.४५ प्रतिशतले बढेर ११ करोड २७ लाख ६० हजार रुपैयाँ पुगेको छ। त्यसैगरी कुल आम्दानी ६ करोड ४१ लाख ९० हजारबाट बढेर १६ करोड ३ लाख ९० हजार पुग्दा कुल खर्च पनि ५ करोड ८८ लाख ८९ हजारबाट बढेर १५ करोड ३३ लाख ६ हजार रुपैयाँ पुगेको छ।

कम्पनीले गत आवको तीन महीनामा आफ्ना अभिकर्ताहरूलाई ५५ लाख ९१ हजार रुपैयाँ कमिशन दिएकोमा चालू आवको तीन महीनामा ६६.६६ प्रतिशतले बढाएर ९३ लाख १८ हजार रुपैयाँ कमिशन बापत दिएको छ।

यद्यपि कम्पनीको प्रतिशेयर आम्दानी ०.२६ पैसाले घटेर ३.७८ रुपैयाँमा झरेको छ जुन गत आवको पहिलो त्रैमासमा ४.०४ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.४१ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ३२ लाख ९३ हजार रुपैयाँ र जगेडा कोषमा २ करोड २१ लाख ९१ हजार रुपैयाँ रहेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीको जीवन बीमाकोष ५ करोड २५ लाख ५६ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ५५९.२२ प्रतिशतले बढेर ३४ करोड ६४ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*