मकर जितुमाया सुरी हाइड्रोपावरले बोलायो साधारणसभा, यस्ता छन् प्रस्तावहरू

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर २६ गते काठमाडौंको धुम्बाराहीस्थित सूर्य इभेन्टमा बिहान साढे १० बजे सत्रौं वार्षिक साधारणसभा बोलाएको छ।
उक्त साधारणसभाले सञ्चालक समितिको अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्ष (आव) को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको गत आव सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूची उपर छलफल गरी पारित गर्नेछ।
त्यसैगरी कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको यस कम्पनीले साधारणसभा प्रयोजनार्थ आउँदो मंसिर १२ गते बुक क्लोज गर्ने बताएको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सो साधारणसभामा भाग लिन सक्नेछन्।













