यूनाइटेड अजोड इन्स्योरेन्सको आम्दानी र व्यवसायमा वृद्धि, बीमाकोष २ अर्ब १७ करोडमाथि

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशित गरेको विवरणअनुसार, कम्पनीको बीमा व्यवसाय, आम्दानी र ग्राहक विस्तारमा उल्लेख्य वृद्धि देखिएको हो।
कम्पनीको खुद बीमाशुल्कमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७.२१ प्रतिशतको उल्लेख्य वृद्धि भएको देखिएको छ। गत आवको पहिलो तीन महिनामा कम्पनीले कुल १९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा चालू आवको पहिलो त्रैमासमा यो रकम २४ करोड ५५ लाख रुपैयाँ पुगेको छ। यसले कम्पनीको बजार उपस्थितिमा वृद्धि र ग्राहकहरूसँगको भरोसा दिगो हुँदै गएको देखिन्छ ।
त्यसैगरी, कम्पनीको कुल आम्दानी पनि ३२ करोड ०२ लाख रुपैयाँबाट १३.५७ प्रतिशतले बढेर ३६ करोड ३४ लाख रुपैयाँ नाघेको छ। यद्यपि, लगानी र ऋणबाट प्राप्त आय ७६ लाख २७ हजार रुपैयाँबाट घटेर ४३ लाख ३१६ हजार रुपैयाँमा आएको छ ।

कम्पनीको मुनाफा भने प्रभावित भएको छ । जेनजी आन्दोलनमा निजि सम्पत्ति माथि तोडफोड भएको थियो । जसका कारण कम्पनीमा करोडौंको दाबी भुक्तानी आयो । सोहि कारण नाफा प्रभावित भएको हो । कम्पनीको मुनाफा १५ करोड ११ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको कुद दाबी भुक्तानी ३३ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त कुल दाबी भुक्तानी ३४ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल खर्च भने गत आवको ३४ करोड ५९ लाख रुपैयाँबाट ५७ करोड ९४ लाख रुपैयाँमा ६७.५० प्रतिशतले वृद्धि भएको छ। यस वृद्धि प्रमुखतया कम्पनीको व्यवसाय विस्तार नयाँ बीमा योजनाहरूको परिचालन र ग्राहक सेवामा सुधारका लागि गरिएको लगानीसँग सम्बन्धित छ।
यता गत आवको पहिलो तीन महीनामा आफ्ना अभिकर्ताहरूलाई ७४ लाख रुपैयाँ कमिशन बापत दिएको कम्पनीले त्यसको तुलनामा चालू आवमा ८०.८१ प्रतिशत वृद्धि गर्दै झण्डै १ करोड ३४ लाख रुपैयाँ अभिकर्तालाई कमिशन बापत दिएको छ।
चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब २ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा साढे ४ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
असोज मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९.४९ रुपैयाँ छ भने प्रतिशेयर आम्दानी २६.१८ रुपैयाँ ऋणात्मक रहेको छ।













