सानिमा रिलायन्स लाइफको वित्तीय सूचकमा प्रगतिः नाफासँगै आम्दानी बढ्यो, बीमाकोष २१ अर्ब नजिक

३० कार्तिक २०८२, आईतवार १०:००

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति देखिएको हो।

कम्पनीले गत आवको असोज मसान्तसम्म १३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको असोज मसान्तसम्म १२.५३ प्रतिशतको वृद्धि सहित १४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

त्यसैगरी गत आवको तीन महीनामा कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवको तीन महीनामा १८.५२ प्रतिशतले बढेर १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ९ करोड ४८ लाख रुपैयाँबाट ७.४१ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च पनि १ अर्ब ९६ करोड २५ लाख रुपैयाँबाट ७.०७ प्रतिशतले बढेर २ अर्ब १० करोड १३ लाख रुपैयाँ नाघेको छ।

गत आवको प्रथम त्रैमासमा कम्पनीले ४६ करोड ५१ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी दिएकोमा चालू आवको प्रथम त्रैमासमा १४ प्रतिशतले घटेर ३९ करोड ९७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी भएको छ। यता कम्पनीले आफ्ना अभिकर्तालाई दिने कमिशन भने १५ करोड रुपैयाँबाट १४ प्रतिशतले बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ र जगेडा कोषमा ४० करोड ६९ लाख रुपैयाँ सञ्चिति रहको छ। प्रतिशेयर नेटवर्थ ११०.५७ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १०.७४ रुपैयाँबाट बढेर ११.९३ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*