तीन महिनाको समीक्षामा चालु खाता र शोधनान्तर बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ तथ्याङ्कले चालु खाता तथा शोधनान्तर दुवैमा उल्लेखनीय सुधार देखिएको छ।
तथ्याङ्कअनुसार समीक्षा अवधिमा चालु खाता रु. २३७ अर्ब ५९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ११५ अर्ब ३६ करोडले मात्र बचतमा थियो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष ८६ करोड डलरले बचतमा रहेको चालु खाता यस वर्ष बढेर १ अर्ब ६९ करोड डलर पुगेको छ। चालु खातामा आएको यो सुधार प्रेषणमा वृद्धि तथा बाह्य क्षेत्रीय स्थितिमा देखिएको सन्तुलनका कारण भएको मानिएको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर पनि वृद्धि भई रु. ५ अर्ब ५५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. २ अर्ब मात्र थियो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भने घटेको देखिएको छ। समीक्षा अवधिमा रु. १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ भने अघिल्लो वर्षको सोही अवधिमा यो राशि रु. ४ अर्ब ८१ करोड थियो।
समग्र शोधनान्तर (ब्यालेन्स अफ पेमेंट्स) पनि उच्च बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा शोधनान्तर रु. २६४ अर्ब ३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो बचत रु. १८४ अर्ब ९९ करोड थियो। अमेरिकी डलरमा हेर्दा पनि शोधनान्तर बचत अघिल्लो वर्षको १ अर्ब ३८ करोडबाट बढेर समीक्षा अवधिमा १ अर्ब ८८ करोड पुगेको छ।













