असोजमा महङ्गी नियन्त्रणमा, उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सीमित

३० कार्तिक २०८२, आईतवार १३:०१

काठमाडौं  असोज २०८२ मा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महङ्गी) १.४७ प्रतिशतमा सीमित रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यो दर ४.८२ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले घटेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.२६ प्रतिशतको तुलनामा न्यून रहेको छ।

खाद्य तथा पेय पदार्थ समूहमा घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.७५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले वृद्धि भएको छ। तरकारी उप–समूहमा १५.६३ प्रतिशत, मरमसलामा ७.८२ प्रतिशत र दाल तथा गेडागुडीमा ४.४१ प्रतिशतले मूल्य घटेको छ।

गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा उप–समूहको मूल्य सूचकाङ्क १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ।

क्षेत्रगत विश्लेषण अनुसार ग्रामीण क्षेत्रमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.२९ प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रमा १.५३ प्रतिशतले बढेको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा २.३३ प्रतिशत, मधेश प्रदेशमा १.२० प्रतिशत, बागमती प्रदेशमा १.१३ प्रतिशत, गण्डकी प्रदेशमा १.१६ प्रतिशत, लुम्बिनी प्रदेशमा १.८९ प्रतिशत, कर्णाली प्रदेशमा १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.६९ प्रतिशत मुद्रास्फीति देखिएको छ।

भौगोलिक दृष्टिले काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४३ प्रतिशत, तराईमा १.२९ प्रतिशत, पहाडमा १.५० प्रतिशत र हिमाल क्षेत्रमा २.३३ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*