बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७४ खर्ब ८२ अर्ब, निजी क्षेत्रमा ५५ खर्ब ८० अर्ब कर्जा प्रवाह

३० कार्तिक २०८२, आईतवार १३:१६

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा प्रवाहमा सकारात्मक वृद्धि देखिएको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.० प्रतिशत अर्थात् २ खर्ब १८ अर्ब ७२ करोडले वृद्धि भई ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २.६ प्रतिशत (१ खर्ब ७० अर्ब)ले बढेको थियो। वार्षिक आधारमा, २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १३.० प्रतिशतले बढेको छ।

कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३८.७ प्रतिशत र ४६.४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत थियो। संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३५.८ प्रतिशत थियो।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि वृद्धि भएको देखिएको छ। समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोडले वृद्धि भई ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशत (१ खर्ब २८ अर्ब ६५ करोड)ले बढेको थियो। वार्षिक आधारमा २०८२ असोज मसान्तमा निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ।

प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत थियो। समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.६ प्रतिशत, विकास बैंकहरूको ०.५ प्रतिशत र वित्त कम्पनीहरूको १.६ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जा अनुसार, चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को सुरक्षणमा १५.० प्रतिशत, घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी क्रमशः १३.४ प्रतिशत र ६५.८ प्रतिशत थिए।

आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा लगानीमा रहेको कर्जा अनुसार निर्माण क्षेत्रमा २.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा २.४ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा २.४ प्रतिशत, उपभोग्य क्षेत्रमा १.६ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रमा १.४ प्रतिशतले वृद्धि भएको छ, जबकि सेवा उद्योग क्षेत्रमा ०.३ प्रतिशतले घटेको छ।

कर्जा प्रकार अनुसार, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.० प्रतिशत, क्यास क्रेडिट कर्जा २.७ प्रतिशत, आवधिक कर्जा ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.६ प्रतिशतले बढेको छ। त्यस्तै, ट्रष्ट रिसिट (आयात) कर्जा ४.३ प्रतिशत र अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*