लाभांश सिजनमा समेत सुस्त पुँजी बजारः आत्तिदै लगानीकर्ता, के होला आगामी यात्रा ?

३० कार्तिक २०८२, आईतवार १५:०५

काठमाडौँ । गत शुक्रबार शेयर बजारमा झिनो सुधार देखिएको भए पनि आज भने बजार राताम्य देखिएको छ । पछिल्लो समय शेयर बजारमा लगानीकर्ता चहलपहल निकै सुस्त छ भने मूल्य सूचकहरू निरन्तर तल झर्दै गइरहेको छ । लगानीकर्ताको मनोबल समेत कमजोर हुँदै गएको छ, जसका कारण बजारमा उत्साहजनक कारोबार देखिन सकेको छैन ।

बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश प्रस्ताव गरिरहेका बेला पनि बजार राताम्य रहेको छ । पछिल्लो समय बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ भने नियामक निकायहरू पनि नीति सुधारतिर सक्रिय भएका छन् । यद्यपि, यी सकारात्मक संकेतका बाबजुद पनि लाभांश सिजनमा बजार निरन्तर खुम्चिँदै गएको छ । विशेषज्ञहरूले भने यसलाई बजारमा भावनात्मक उतार–चढाव, अनुभवहीन लगानीकर्ताको हडबडी र बजार बढ्दा उत्साहित र घट्दा डराउने प्रवृत्तिसँग जोडेर विश्लेषण गरेका छन् ।

बजारमा अस्थिरता ल्याउन माफिया समूह र ठूला लगानीकर्ताको चलखेलले पनि भूमिका खेलेको आशंका गरिएको छ । राजनीतिक अस्थिरता र आगामी आन्दोलनका खबरहरूले लगानीकर्तामा जोखिम लिने डर बढाएको छ । यसले शेयर बजारमा दीर्घकालीन लगानीकर्ताहरू समेत सतर्क हुन बाध्य बनाएको छ ।

यसबीच, बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिक विवरणले पनि बजारमा नकारात्मक संकेत दिएको छ। राजनीतिक अस्थिरता र आन्दोलनका कारण धेरै बैंकहरूको नाफा घटेको र खराब कर्जा बढेको देखिएको छ। यसले लगानीकर्ताको मनोबल कमजोर पार्दै शेयर बजारमा सतर्कता बढाएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अकंले घटेर २५४०.५७ बिन्दुमा कायम भएको छ। आज ३३७ कम्पनीको ७९ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, फाइनान्स समूहको ०.८७ प्रतिशत, हाइड्रोपावर समूहको ०.४९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य आज स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*