आफूलाई पक्राउ गर्न सक्ने भन्दै ओली सशंकित

३० कार्तिक २०८२, आईतवार १६:४८

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सक्ने आशंका व्यक्त गरेका छन्। आइतबार गुण्डूस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँग संवाद गर्दै अध्यक्ष ओलीले सरकारको यस्तो कदमलाई नै सुशासन ठानिएको बताउँदै आलोचना गरेका हुन् ।

सरकारले आफू र लेखकलाई पक्राउ गर्न जेन–जीहरूसँग संगठन गर्ने, उनीहरुलाई मागपत्र लेखिदिने, मागपत्र बुझाएर दबाब दिने जस्ता काम गरिरहेको ओलिको भनाइ छ । उनले भने, ‘अहिले सरकारमा हुनेहरूले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन्। त्यसका लागि जेन–जीहरुलाई संगठित गर्नु, उनीहरुको मागपत्र लेखिदिनु, उनीहरुलाई बोलाएर मागपत्र पढाउनु, हातमा थमाइदिनु, डेलिगेशन बोलाउने, डेलिगेशन भेट्ने, सञ्चारकर्मीहरुका अगाडि डेलिगेशन आयो भनेर सरकार दबाबमा छ भन्ने देखाउन आर्टिफिसियल ड्रामा तयार भएको छ।’

ओलीले जेन–जीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले ड्राफ्ट गरेको, कहाँ पढाइएको, को अर्गनाइजर रहेको भन्ने सबै जानकारी आफूलाई रहेको पनि बताए। उनले वर्तमान सरकारले बिना पैसाको नाटक मञ्चन गरिरहेको टिप्पणी गर्दै, ‘हामीले बिना पैसा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएका छौँ। कला बिहीन नाटक हो, नाटकमा अलिकति कला हुनुपर्छ, तर अहिलेको नाटक कला बिहीन छ’ उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकारले आफू र लेखकको गिरफ्तारीको मुद्दा उठाएर भ्रमपूर्ण नाटक प्रदर्शन गरिरहेको र यसलाई सुशासनको नाममा प्रस्तुत गर्न खोजेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*