तल्लो सोलुखोला जलविद्युत आयोजनाको शेयर वितरण प्रक्रियाप्रति आपत्ति, स्थानिय पुगे बोर्डको दैलोमा

काठमाडौँ । तल्लो सोलुखोला ८२ मेगावाट क्षमताको जलविद्युत आयोजना अन्तर्गत धितोपत्र बोर्डमार्फत कात्तिक २७ गते प्रकाशित शेयरसम्बन्धी सूचनाले सोलुखुम्बु जिल्लाबासीको ध्यानाकर्षण जनाएका छन् । सल्यान गाउँपालिका र सोलुखुम्बु जिल्लाका बासिन्दा यस सूचनाले स्थानीय अधिकार विपरित, अपारदर्शी र अन्यायपूर्ण ढंगले शेयर वितरण गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
सोलुखुम्बुको बिचभागबाट बग्ने सोलुखोला नदी जिल्लाको साझा पहिचान, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रतीक मानिन्छ। स्थानीय बासिन्दाका अनुसार, सामाजिक र प्राकृतिक प्रभाव भोगिरहेका बेला पनि आयोजनाबाट उत्साहित थिए। तर धितोपत्र बोर्डमार्फत प्रकाशित सूचनाले शेयर वितरणमा पारदर्शिता र न्याय सुनिश्चित नगरेको भन्दै स्थानीय समुदाय असन्तुष्ट बनेको छ।
बासिन्दा तथा स्थानिय प्रतिनिधिहरूले जलविद्युत आयोजनाले वातावरण, जनजीवन र सामाजिक संरचनामा पार्ने असरलाई ध्यानमा राख्दै शेयर वितरण प्रक्रिया पुन: व्यवस्थित गर्न र पुन: समायोजन गर्न आग्रह गरेका छन्।
सोलुखुम्बुवासीले धितोपत्र बोर्ड र सम्बन्धित निकायहरूलाई सूचनालाई तत्काल संकलन गरी उचित, पारदर्शी र स्थानीय अधिकार सम्मान गर्दै शेयर वितरण प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको छ।













