सुधारिँदो सिमेन्टको वित्तीय चित्रः शिवम्, सर्वोत्तम, सोनापुर र घोराही सिमेन्टमा को कति अब्बल ? (तथ्याङ्कसहित)

१ मंसिर २०८२, सोमबार १३:०६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै लयमा फर्कि रहेको छ । गत आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक कम्पनी केहि सकारात्मक यात्रा तिर फर्कि रहेको देखिएको हो ।

चार कम्पनीमध्ये शिवम सिमेन्ट र सर्वोत्तम सिमेन्टको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक देखाएको छ भने घोराही सिमेन्ट र सोनापुर सिमेन्ट पनि विस्तारै लयमा आइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म सिमेन्ट उद्योगका चार प्रमुख कम्पनी वित्तीय रुपमा सुधारको दिशामा अग्रसर भएको देखिएको छ । विवरण अनुसार चारै कम्पनीले नाफा वा घाटामा उल्लेखनीय परिवर्तन देखाएका छन् ।

शिवम् सिमेन्ट्स

शिवम सिमेन्ट्सले असोज मसान्तसम्मको अवधिमा कम्पनीले २० करोड ९६ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त नाफा १५३८.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ३३ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बिक्री आम्दानी १ अर्ब ४० करोड रहेको थियो ।

यता, कम्पनीको कुल नाफा २१५.०७ प्रतिशतले बढेर ३२ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी १.९७ प्रतिशत घटेर १० करोड ३६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ सञ्चित छ ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा बढेर १५ रुपैयाँ ३७ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १.०२ रुपैयाँ रहेको थियो । यता, कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३६.४२ गुणा रहेको छ।

सर्वोत्तम सिमेन्ट

सर्वोत्तम सिमेन्ट गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधि २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो भने चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३२ करोड ४२ लाख रुपैयाँ नाफामा पुगेको छ ।

कम्पनीको बिक्री आम्दानी ३५.७७ प्रतिशतले बढेको छ भने कुल नाफा ४०८.८१ प्रतिशतले वृद्धि भएको छ । यससँगै वित्तीय खर्च १५.९१ प्रतिशत घटेको भए पनि कुल खर्च ८१.८९ प्रतिशतले बढेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी सकारात्मक भएको छ। असोज मसान्तसम्म प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसा कायम रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ११ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ३१.९१ गुणा रहेको ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ ।

सोनापुर मिनरल्स

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो भने चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफामा पुगेको छ ।

कम्पनीको बिक्री आम्दानी ९५.३० प्रतिशतले वृद्धि भएको छ भने कुल नाफा ७८८.९१ प्रतिशतले बढेको छ। यसैबीच, वित्तीय खर्च ५८.१६ प्रतिशतले बढेको भए पनि सञ्चालन मुनाफा ऋणात्मक २ करोड ८२ लाख रुपैयाँबाट १ करोड ३४ लाख रुपैयाँ धनात्मकमा पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी सकारात्मक भएको छ। असोज मसान्तसम्म प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा कायम रहेको छ भने प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ९१ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ७१.३० गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ ।

घोराही सिमेन्ट इण्डष्ट्री

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म घाटामा महत्वपूर्ण कमी ल्याएको छ । कम्पनीले समीक्षा अवधिसम्म १२ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा भएको ५१ करोड ३७ लाख रुपैयाँ घाटासँग तुलना गर्दा उल्लेखनीय कमी हो।

समीक्षा अवधिसम्म कम्पनीको बिक्री आम्दानी ९० करोड ६० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिको ६७ करोड ८३ लाख रुपैयाँको तुलनामा करिब ३५.५४ प्रतिशतले बढी हो। त्यस्तै, कम्पनीले ५९ लाख ४८ हजार रुपैयाँबराबरको अन्य आम्दानी पनि प्राप्त गरेको छ।

व्यवसाय सञ्चालन खर्चको विवरण अनुसार प्रशासनिक, बिक्री तथा वितरण खर्च ४ करोड ३५ लाख, ह्रासकट्टी खर्च १७ करोड १५ लाख, र वित्तीय खर्च १७ करोड ६३ लाख रुपैयाँ कायम भएको छ। कम्पनीका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण व्यवसायमा गम्भीर असर परेको छ। यसैगरी, नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम बुझाउन पत्राचार गरेकोले कम्पनीमा थप वित्तीय भार परेको छ।

कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ६७ करोड रुपैयाँबाट घटेर १ अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (भ्एक्) २.८० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १८६.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८८.८२ रुपैयाँ, र तरलता अनुपात ०.८३३ प्रतिशत कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*