विद्यालयमा छात्रवृत्ति र खाजाको रकम हिनामिना, अध्यक्ष-प्रधानाध्यापकविरुद्ध अख्तियारको मुद्दा

१ मंसिर २०८२, सोमबार १६:३७

काठमाडौं । कपिलवस्तुको एक सामुदायिक विद्यालयमा छात्रवृत्ति देखि लिएर दिवा खाजा र पाठ्यपुस्तकका लागि आएको रकमसमेत दुरूपयोग भएको खुलेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले कपिलवस्तुको विश्वमैत्री आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारु र विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ। दुवै जनामाथि ४ लाख ४३ हजार ४३० रुपैयाँ बिगो देखाइएको छ।

प्रधानाध्यापक रैदासले प्राथमिक तहको स्थायी शिक्षकको नागरिक लगानी कोष तथा अन्य सामाजिक सुरक्षा करका रकमसमेत समयमा फरक खाता वा काममा नलगाएको भन्ने उजुरी आयोगमा परेको थियो। प्रारम्भिक छानबिनपछि आयोगले मुद्दा दायर गर्दै थप आर्थिक अनियमितता पनि फेला परेको जनाएको हो।

उजुरीको आधारमा गरिएको विस्तृत अनुसन्धानमा आर्थिक वर्ष २०७८/७९ मा कपिलवस्तु नगरपालिकाबाट विद्यालयलाई विनियोजित छात्रवृत्ति, दिवा खाजा, र पाठ्यपुस्तक शीर्षकका रकम तोकिएको काममा नलगाई अनियमित खर्च गरिएको अख्तियारले ठहर गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*