अपेक्षा अनुसार बिक्री हुन नसकेपछि बिवाईडीको नयाँ रणनीति, मेला र छुट मार्फत ग्राहक लोभ्याउने प्रयास!

काठमाडौं । पछिल्लो समय नेपालमा बिवाईडी गाडीको बिक्रीमा गम्भीर समस्या देखा परेको छ। प्रतिस्पर्धी कम्पनी टाटा र हुन्डाईका आकर्षक मोडलहरु बजारमा भित्रिएपछि बिवाईडीले आफ्नो बिक्री लक्ष्य पूरा गर्न सकेको छैन। बिक्रीमा आएको गिरावटका कारण कम्पनीले विभिन्न मेला आयोजना गरेर ग्राहक लोभ्याउने प्रयास सुरु गरेको छ।
हालै बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ नामक मेला आयोजना गर्ने निर्णय गरेको छ। मंसिर ३ देखि मंसिर ६ गतेसम्म चल्ने भनिएको उक्त कार्यक्रम काठमाडौं उपत्यका र देशभर रहेका बिवाईडी शोरुमहरुमा सञ्चालन हुने जनाइएको छ। तर, बजारमा बढ्दो प्रतिस्पर्धा र ग्राहकको गम्भीर असन्तुष्टिले गर्दा यस प्रकारका मेलाले कम्पनीको बिक्रीमा ठूलो सुधार ल्याउन सक्नेमा शंका गरिएको छ।
कम्पनीले एक्सचेन्ज फेस्टमा ग्राहकलाई आकर्षित गर्न पुराना गाडी बिवाईडी गाडीमा एक्सचेन्ज गर्न सक्ने अफरको साथै नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, फ्री एक्सेसरीज, पोर्टेबल चार्जर, १० वर्षसम्म एप कनेक्टिभिटी र विस्तारित वारेन्टी, फ्री रोड ट्याक्स जस्ता सुविधाहरू उपलब्ध गराउने जनाएको छ। तर, यी प्रचारात्मक सुविधाहरूले पनि ग्राहकको मन जित्न सक्ने अवस्था छैन।
बिवाईडीको बिक्री समस्या यसको गाडीका मोडल र फिचर प्रतिस्पर्धी गाडीको तुलनामा कमजोर हुनुले उत्पन्न भएको हो। टाटा र हुन्डाईका गाडीमा देखिएका आधुनिक फिचर र आकर्षक डिजाइनका कारण ग्राहक बिवाईडीतर्फ आकर्षित हुन सकेका छैनन्। यसले गर्दा बिवाईडीको रणनीतिहरू केवल प्रचारमै सीमित रहिरहेकाले दीर्घकालीन लाभको आशा कमजोर छ।
यस्तै, एक्सचेन्ज फेस्टमा सहभागी ग्राहकमध्ये लक्की ड्रमार्फत १० जनालाई चीन भ्रमणको मौका दिने घोषणा गरिएको छ। कम्पनीले यसलाई मेलाको मुख्य आकर्षण बनाउने प्रयास गरेको छ। ग्राहकको वास्तविक रुचि र बजारको मागसँग मेल नखाने अफरले बिक्री बढाउन सक्ने सम्भावना न्यून देखिन्छ।













