उपदान तथा पेन्सन कोषको ३ अर्ब ५३ करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा प्रस्तावित ब्याजदर उल्लेख गरी मंगलबार साँझ ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ।
राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि लगानी गर्न लागिएको जानकारी गराएको छ। सूचनाअनुसार वाणिज्य बैंकमा २ अर्ब ८२ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ५२ करोड ९५ लाख रुपैयाँ र वित्त कम्पनीमा १७ करोड ६५ लाख रुपैयाँ लगानी गर्न लागिएको छ।
लगानी लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, न्यूनतम कूल पुँजी कोष कायम रहेको, कूल कर्जा सापटी अनुपात ८ प्रतिशतभित्र रहेको र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
निर्धारित सर्त पूरा गरेका संस्थाले तोकिएको समयभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।













