निफ्राको ६.३१ प्रतिशत लाभांश साधारण सभाबाट ‘हरायो’, के हो कारण?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत भदौ १९ गते सञ्चालक समितिबाट निर्णय गरी सार्वजनिक गरेको लाभांश प्रस्ताव साधारण सभाको एजेन्डाबाटै हटेको छ। कर सहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको बैंकको साधारण सभा सूचना भने उक्त प्रस्तावबिनै प्रकाशित भएको छ, जसले सेयरधनीलाई आश्चर्यचकित बनाएको छ।
निफ्राले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हालको २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा करसहित १ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय भदौमै गरेको थियो। तर साढे दुई महिनापछि बोलाइएको साधारण सभाको एजेन्डामा त्यो प्रस्ताव समावेश नभएपछि बैंकभित्र लाभांश ‘गायब’ भएको चर्चा सुरु भएको छ।
बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले मंसिर २३ गते साधारण सभा बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा गर्न निर्णय गरेको हो। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्ने र २०८२/८३ का लागि बाह्य लेखापरीक्षक पुनः नियुक्त गर्ने प्रस्ताव मात्र राखिएको छ। साथै सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन पनि सभाको एजेन्डामा समावेश छ।
यद्यपि, भदौ १९ को बोर्ड बैठकले पारित गरेको नगद लाभांश प्रस्ताव भने एजेन्डाबाट छुटिएको छ। बैंकले भने भूलवश लाभांश प्रस्ताव छुट्न बताएको छ । यसबारे विज्ञप्तिमार्फत प्रष्ट पारिने तथा अर्को सूचना प्रकाशन गरेर भूलसुधार गरिने जानकारी दिएको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा नाम आवद्ध सेयरधनी मात्र सभामा सहभागी हुन सक्नेछन्।













