जानकी फाइनान्सको खराब कर्जा ५३.८०%: राष्ट्र बैंकको निगरानी असफल, धरापमा लगानीकर्ताको लगानी

२ मंसिर २०८२, मंगलवार १२:३६

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त जानकी फाइनान्स लिमिटेड गम्भीर वित्तीय संकटमा फसेको छ । संस्थाको पछिल्लो वित्तीय अवस्था हेर्दा कम्पनी टाटपल्टिने जोखिम झनै बढेको देखिन्छ । व्यवस्थापनको कमजोर रणनीति, कर्जा प्रवाहमा देखिएको लापरबाही र बढ्दो खराब कर्जाले कम्पनीलाई संकटको गहिरो खाल्डोमा धकेलेको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासको वित्तीय विवरणले संस्थाको अवस्थालाई अत्यन्तै चिन्ताजनक देखाएको छ । कम्पनीको खराब कर्जा ५३.८० प्रतिशतमा पुगेको छ, जुन कुनै पनि वित्तीय संस्थाका लागि असाधारण रूपमा उच्च जोखिमको संकेत हो । गत आर्थिक वर्षको यही अवधिमा खराब कर्जा ३८.४४ प्रतिशत रहेको थियो । एक वर्षमै करिब १५ प्रतिशत बिन्दुले खराब कर्जा बढ्नु कर्जा व्यवस्थापनको कमजोरी मात्र नभई संस्थाभित्र रहेको प्रणालीगत त्रुटिको मानिन्छ ।

कर्जा नीतिको बलियो संरचना नभएको र अध्ययनबिनाको कर्जा प्रवाहले संस्थाका लागि सबैभन्दा ठूलो जोखिम सिर्जना गरिदिएको छ । बजारको प्रतिस्पर्धा र दवावबीच विवेकहीन रूपमा वितरण भइरहेका कर्जाले फाइनान्सको सम्पूर्ण जोखिम प्रोफाइल नराम्रोसँग बिगारेको छ । हचुवाका भरमा, आवश्यक ग्रहणयोग्यता मूल्यांकनबिनै निर्णयहरू लिइनु नै खराब कर्जा निरन्तर बढ्नुको मुख्य कारण देखिन्छ ।

जानकी फाइनान्सको व्यवस्थापन नेतृत्व परिवर्तनपछि नै वित्तीय सूचकहरू नकारात्मक दिशातर्फ फस्टाउन थालेका स्पष्ट देखिछ । २०७८ फागुन २९ गते दिनेश कुमार शर्मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त हुँदा फाइनान्सको खराब कर्जा ५.३१ प्रतिशत थियो । शर्मा नेतृत्वमा आएपछि भने खराब कर्जा वर्षेनि उकालो लाग्दै संस्थालाई जोखिमपूर्ण अवस्थामा पु¥याएको छ । २०७९ कात्तिक २७ गते अध्यक्षमा नियुक्त भएका बलराम प्रसाद गुप्ताको कार्यकालमा पनि संस्थाले कर्जा जोखिम नियन्त्रण गर्नेतर्फ कुनै प्रभावकारी कदम चाल्न नसकेको देखिन्छ । गुप्ता अध्यक्ष बन्नु आएको बेला संस्थाको खराब कर्जा ११.१८ प्रतिशत पुगेको थियो, जसपछि यो सूचक झनै बेकाबु हुँदै गएको छ ।

खराब कर्जा बढ्नु केवल कर्जा लिने केही बिजनेसको असफलता मात्र होइन संस्थाको आन्तरिक प्रणाली कमजोर हुनु, जोखिम व्यवस्थापन प्रभावहीन हुनु र उदासीन नेतृत्वको परिणाम हो ।
कम्पनीको नाफामा सुधार देखिएपनि अधिकाशं सूचक भने ऋणात्मक रहेको छ । कम्पनीको जगेडा कोष १ अर्ब १३ करोड ऋणात्मक रहेको हो । कम्पनीको प्रतिशेयर आम्दानी १.०७ रुपैयाँ सीमित रहेको छ भने प्रतिशेयर नेटवर्थ १.९८ रुपैयाँ ऋणात्मक रहेको हो ।

कम्पनीको नाफामा सुधार देखिएपनि अधिकाशं सूचक भने ऋणात्मक रहेको छ । कम्पनीको जगेडा कोष १ अर्ब १३ करोड ऋणात्मक रहेको हो । कम्पनीको प्रतिशेयर आम्दानी १.०७ रुपैयाँ सीमित रहेको छ भने प्रतिशेयर नेटवर्थ १.९८ रुपैयाँ ऋणात्मक रहेको हो । कम्पनीको पुँजी कोष अनुपात –५.७४ प्रतिशत रहेको छ ।

केन्द्रीय बैंकको निगरानी समेत असफल

नेपाल राष्ट्र बैंकको निगरानीमा रहे पनि जानकी फाइनान्स निरन्तर वित्तीय संकटको बाटोमा अगाडि बढेको छ । वित्तीय तथ्याङ्क अनुसार कम्पनीको पुँजी कोष अनुपात न्यूनतम नियामकीय मापदण्डभन्दा धेरै कम पुगेको छ । राष्ट्र बैंकले यसलाई नियमन गर्ने उद्देश्यले २०८२ बैशाखमा शीघ्र सुधारात्मक कारबाहीको निर्णय गरेको थियो ।

राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपातभन्दा ५० प्रतिशतभन्दा कम पुँजी कोष भएमा वित्तीय संस्थामा यस्तो कारवाही लाग्छ । यसअन्तर्गत जानकी फाइनान्स नयाँ निक्षेप खाता खोल्न, नयाँ कर्जा लगानी गर्न, नयाँ शाखा तथा सेवा विस्तार गर्न र नयाँ कर्मचारी नियुक्त गर्न असमर्थ छ। यसरी संस्थामा गतिविधि सीमित गर्दै वित्तीय संकट कम गर्ने प्रयास गरिन्छ ।

शीघ्र सुधारात्मक कारबाही अन्तर्गत राष्ट्र बैंकले समस्यामा परेका संस्थाका कर्मचारीहरुको तलब, भत्ता तथा अन्य आर्थिक सुविधा वृद्धिमा रोक लगाउने व्यवस्था पनि गरेको छ । जानकी फाइनान्सलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रिय बैंकको निगरानी भए पनि कम्पनीको वित्तीय व्यवस्थापन कमजोर भएको कारण संकट बढ्दै गएको हो । यसले वित्तीय प्रणालीमा भरोसा कम हुने खतरा पैदा गरेको छ । अब केन्द्रिय बैंकले संस्थालाई सुनसुकै समयमा टेकओभर गर्ने सक्ने देखिन्छ । विंसं २०५२ सालमा मधेस प्रदेशमा स्थापना भएको जानकी फाइनान्सको धनुषामा केन्द्रीय कार्यालय छ । संस्थाले धनुषासहित महोत्तरी र सिराहमा गरी पाँच वटा शाखा छन् ।

टेकओभरको जोखिममा रहेको संस्था माथि शेयर बजार माफियाको रजगज

जानकी फाइनान्स नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनी हो । कम्पनीको वित्तीय तथ्याङ्क हेर्दा यसलाई कुनै पनि समयमा केन्द्रिय बैंकले टेकओभर गर्ने सम्भावना बढ्दै गएको छ । राष्ट्र बैंकले २०८२ बैशाखमा कम्पनीमाथि शीघ्र सुधारात्मक कारबाही गरेको भए पनि कम्पनी अझै वित्तीय रुपमा स्थिर हुन सकेको छैन । यदि यसले सुधार नदेखायो भने राष्ट्र बैंकले कम्पनीको व्यवस्थापन टेकओभर गर्नेछ ।

वित्तीय संकटमा रहेको कम्पनीको शेयरमा भने दोस्रो बजारमा माफियाहरुको सक्रिय रजगज देखिएको छ । कम्पनीको शेयर मूल्य हाल साढे ४०० रुपैयाँसम्म पुगेको छ । जानकी फाइनान्सले लाभांश वितरण गर्न नसक्ने अवस्थामा भए पनि माफियाहरुले शेयर बजारमा चलखेल गरेर मूल्यमा उतार–चढाव सिर्जना गरिरहेको देखिन्छ । लगानीकर्ताहरुको लगानी असुरक्षित बन्दै गएको छ । कम्पनी वित्तीय रुपमा डुब्ने अवस्थामा पुगिसकेको छ भने पनि माफियाहरुको चलखेलले शेयर मूल्यमा कृत्रिम वृद्धि भइरहेको छ । यसले सामान्य लगानीकर्ताको जोखिम बढाएको छ र बजारमा अनावश्यक अस्थिरता ल्याइरहेको छ ।

वित्तीय विवरणको अध्ययन नगरी कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुको पैसा बालुवामा पानि झै हुने प्रष्ट छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*