दोहोरो अकंले बढ्यो बजारः लगानीकर्तामा छैन उत्साह, लाभांश सिजनले हरियाली ल्याउँला ?

२ मंसिर २०८२, मंगलवार १५:०५

काठमाडौँ । आज शेयर बजार दोहोरो अंकले बढेको छ । बजार बढेपनि लगानीकर्तामा उत्साह भने देखिएको छैन । पछिल्लो समय बजार निरन्तर सुस्त हुँदै गएको छ भने लगानीकर्ता निराश बन्दै गएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश प्रस्ताव गरिरहे पनि बजार अपेक्षाअनुसार सक्रिय हुन सकेको छैन ।

बैंकको ब्याजदर निरन्तर घट्दै गएको र नियामक निकायहरूले नीति सुधारमा सक्रिय भए तापनि बजारमा ठूलो उत्साह देखिएको छैन । विशेषज्ञहरूले शेयर बजारको अस्थिरतालाई भावनात्मक उतार–चढाव, अनुभवहीन लगानीकर्ताको हडबडी, साथै माफिया समूह र ठूला लगानीकर्ताको सम्भावित चलखेलसँग जोडेर विश्लेषण गरेका छन् ।

त्यसैगरी, राजनीतिक अस्थिरता र आगामी आन्दोलनका खबरहरूले लगानीकर्तामा जोखिम लिने डर बढाएको छ । बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिक विवरणले पनि बजारमा नकारात्मक संकेत दिएको छ; धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको देखिएको छ। यसले दीर्घकालीन लगानीकर्तासमेत सतर्क बनाएको र बजारमा सतर्कता बढाएको विश्लेषकहरूले बताएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८० अकंले बढेर २५६४.१६ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ९१ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६ करोठ ५६ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार २०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*