जीवन बीमकहरूको बीमाकोष साढे ८ खर्ब नजिक, कुन कम्पनीको कति?

३ मंसिर २०८२, बुधबार १२:२८

काठमाडौं । नेपालमा सञ्चालित १४ वटै जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरणअनुसार कम्पनीहरूको जीवन बीमाकोष साढे ८ खर्ब नजिक पुगेको हो।

गत आवको असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूको बीमाकोष ७ खर्ब १८ अर्ब २२ करोड ९६ लाख रुपैयाँ रहेकोमा त्यसको तुलनामा चालू आवको असोज मसान्तसम्म १७.६८ प्रतिशतले बढेर ८ खर्ब ४५ अर्ब १८ करोड ७३ लाख रुपैयाँ बीमाकोष कायम भएको छ। जीवन बीमा कोष कम्पनीहरूले चलाउने सामान्य कोषभन्दा अलग हुन्छ र यसै कोषबाट बीमितलाई दाबी भुक्तानी गरिन्छ। बीमाकोष ठूलो हुनुले त्यस्तो कम्पनीसँग दाबी भुक्तानी गर्न पर्याप्त पैसा छ भन्ने संकेत दिन्छ।

कस्को कति?
नेपाल लाइफ इन्स्योरेन्सको बीमाकोष सबैभन्दा ठूलो २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ रहेको छ। दोस्रोमा एलआईसी नेपालको १ खर्ब ३६ अर्ब ९५ करोड ८१ लाख रुपैयाँको बीमाकोष छ भने तेस्रोमा नेशनल लाइफको ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँको बीमाकोष रहेको छ।

त्यसैगरी हिमालयन लाइफको ८० अर्ब ३१ करोड ४ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ६४ अर्ब १३ करोड ७४ लाख रुपैयाँ, एशियन लाइफको ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ र सूर्यज्योति लाइफको ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँको बीमाकोष रहेको छ।

त्यसपछि मेट लाइफको ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ, सिटिजन लाइफको २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १९ अर्ब ७९ करोड १० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १४ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ, आइएमई लाइफको १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ र सन नेपाल लाइफको १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँको बीमाकोष रहेको छ।

वृद्धिदरका आधारमा
गत आवको असोज मसान्तसम्म कायम भएको बीमाकोषसँग चालू आवको असोज मसान्तसम्मको बीमाकोष तुलना गर्ने हो भने आइएमई लाइफको सर्वाधिक ४०.८२ प्रतिशतले यस्तो कोषको आकार वृद्धि भएको तथ्यांकले देखाएको छ।

त्यसपछि सिटिजन लाइफको ३८.१० प्रतिशत, सन नेपाल लाइफको ३७.८६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३५.०१ प्रतिशत, सानिमा रिलायन्सको ३४.१२ प्रतिशत, नेशनल लाइफको २४.७२ प्रतिशतले जीवन बीमाकोष वृद्धि भएको छ।

त्यसैगरी सूर्यज्योतिको २१.६० प्रतिशत, हिमालयन लाइफको १९.५६ प्रतिशत, नेपाल लाइफको १७.७८ प्रतिशत, मेट लाइफको १४.८३ प्रतिशत, रिलायबलको १३.९२ प्रतिशत, एशियन लाइफको ११.२२ प्रतिशत, एलआईसीको १०.६४ प्रतिशत र राष्ट्रिय जीवन बीमाको ६.४६ प्रतिशतले बीमाकोष वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*