गाडी किन्ने घट्दा तनावमा अटो व्यवसायी, हजारौँ गाडी गोदाममै स्टक

काठमाडौं । पछिल्लो केही महिनादेखि नेपाली अटो बजार सुस्त बनेको छ । अटो शोमा देखिएको उत्साह, ईभीमय वातावरण र बजारले सम्हालेको गतिशीलता जेन-जी आन्दोलनका कारण एकाएक भत्किँदै गएको हो ।
आन्दोलनले सिंगो अर्थतन्त्र हल्लिँदै जाँदा उपभोक्तामा अनिश्चितता र त्रास बढ्यो, जसको प्रत्यक्ष प्रभाव अटो उद्योगमा परिरहेको छ । केही समयअघि सम्म ‘बिक्री बढ्ने’ आशामा बसेका व्यवसायी अहिले ‘कसरी टिक्ने’ भन्ने प्रश्नमा जुधिरहेका छन् । बजारमा गति छैन, खरिद चाहना झनै हराउँदै गएको छ र आर्थिक गतिविधि नै ठप्पजस्तै हुँदा अटो क्षेत्र मन्दीमा फसेको छ ।
उपभोक्ताको मनोबल कमजोर बनेको छ । गाडी किन्ने मनसाय घट्दै जादा अटो क्षेत्रमा माग ओरालो लागेको छ । आन्दोलनले व्यवसायिक गतिविधिमा बाधा आएर रोजगारमा परेको अनिश्चितताले उपभोक्ता खर्च गर्नभन्दा बचतमा उन्मुख हुँदै गएका छन् । उपभोक्ताले अत्यावश्यक खर्चलाई मात्र प्राथमिकता दिइरहेका हुन् । फलस्वरूपः नयाँ गाडी खरिद गर्ने प्रवृत्ति खुम्चिएको छ । अहिले गाडी बिक्रीमा ८० प्रतिशतसम्म गिरावट आइसकेको छ ।
यद्यापी, आयातको तथ्याङकले गिरावट देखाउँदैन । चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्ममा मात्र २६२० वटा ईभी कार नेपाल आएका छन् । निर्माता कम्पनीले तयार पारेका गाडी आयातकर्ताले समयमै अर्डर गरेका भएर, बिक्री घटे पनि कारहरू नेपाल आएका छन् । तर यिनै अर्डर अहिले उल्टै व्यवसायीको टाउको दुःखाइ बनेका छन्, किनकि बजार सुस्त हुँदा ती गाडी बिक्री हुन सकेका छैनन् । हजारौंको संख्यामा अर्डर भएकै कारण बजारमा गाडी थुप्रिएको छ ।

ठुला कम्पनीहरूले आफूलाई केही हदसम्म जोगाए पनि सानातिना कम्पनी भने सीधै दबाबमा छन् । धेरैले गाडी बुकिङका आधारमा स्टक बढाएका थिए । तर आन्दोलनपछि उपभोक्ताले आफ्नो आर्थिक योजना फेरबदल गरे र बुकिङ रद्द गर्ने क्रम बढ्यो । विशेषतः अटो शोबाटै हजारौँ बुकिङ पाएका कम्पनीहरू अहिले ती बुकिङ वास्तविक बिक्रीमा रूपान्तरण नहुँदा ‘अघिल्लो उत्साह नै अहिले तनाव’ बनेको अनुभव गरिरहेका छन् । केहीले गाडी डेलिभरी गरे पनि अधिकांश बुकिङ बीचमै रोकिएको छ ।

यसबीच, अटो बजारसँग सम्बद्ध अर्को ठूलो चुनौती भनेको बैंक ऋण तिर्न नसक्ने उपभोक्ताको संख्या बढ्नु हो । गाडी किनेका ग्राहकले आय–आर्जन सुस्त हुँदा किस्ता बुझाउन नसक्ने अवस्था छ । कर्जा तिर्न ढिलाइ हुँदा धेरै ग्राहक बैंकको कालोसूचीमा पर्न थालेका छन् । व्यावसायिक गाडी मात्र नभई, निजी गाडी किनेका धेरै ग्राहक पनि ऋण असुलीको दबाबमा परेका छन् ।
असोजअघि देशभर विभिन्न अटो शोका दौरान गाडी बुकिङमा ठूलै वृद्धि भएको थियो । ईभीको प्रवद्र्धन बढेको, प्रविधितर्फ उपभोक्ताको आकर्षण बढेको र अटो प्रदर्शनीहरूले सकारात्मक वातावरण बनाएको थियो । तर, बुकिङको त्यो लहर लामो समय टिकेन । दशैं–तिहारलाई लक्षित गर्दै कम्पनीहरूले ठूलो बिक्रीको आशा गरेका थिए । सोहि समयमा धेरैले स्टक बढाउनुका साथै मोडल बिस्तार गरे योजनाहरू बनाए । तर दशैंको मुखमै जेन–जी आन्दोलन चर्कियो, देशको राजनीतिक–व्यवसायिक वातावरण अराजकजस्तै बन्दा अटो बजार डुब्ने मोडमा पुग्यो ।
साथै, बजेटअघि व्यवसायीले ‘कर बढ्नेछ’ भन्ने आशंकामा ठूलो मात्रामा गाडी आयात भए । तत्कालीन अर्थमन्त्रीले गाडीमा लाग्दै आएको कर यथावत् राखेपछि व्यवसायी ‘चकित बने । कर नबढे पनि गाडीको ठूलो स्टक नेपाल भित्रियो तर त्यो स्टक अहिले बिक्री नहुँदा बन्दरगाहदेखि थोक गोदामसम्म भरिएको छ । विशेषतः चिनियाँ ईभीहरूको वर्चस्वबीच रसुवा र तातोपानी नाकाबाट आएका १२५० गाडीमध्ये करिब ९५० भन्दा बढी गाडी अहिले पनि चोभार सुक्खा बन्दरगाहमै अड्किएका छन् । पार्किङ शुल्क मात्र प्रत्येक दिन लाखौं रुपैयाँभन्दा बढी तिर्नुपर्ने बाध्यता स्वयं व्यवसायीको थप बोझ बनिरहेको छ ।
बन्दरगाहमै थुप्रिएका गाडी बजारमा छिरिसकेका मात्र भए पनि तत्काल बिक्रीमा परिणत हुने अवस्था छैन । स्थापित ब्रान्डका गाडी केही हदसम्म चले पनि नयाँ आएका वा कम परिचित ब्रान्डका मोडलहरू गोदाम र पार्किङमै थन्किएका छन् ।
समग्र व्यवसायिक वातावरण कमजोर भएको कारण अटो उद्योगले बढी चोट परेको छ । किनकि अटो क्षेत्र त्यो उद्योग हो जहाँ उपभोक्ता दीर्घकालीन योजना, स्थिर आय र भविष्यको विश्वसनीयता ठानेर खरिद गर्छन् । अहिले ती तीनै पक्ष कमजोर देखिएका छन् । बजारमा उपभोक्ताको मनोविज्ञान ‘अनिश्चितता–भय–बचत’ मा झरेको छ ।













