सुस्त पुँजी बजारः शेयर बिक्री तिर हाबि हुँदै लगानीकर्ता, मार्केट किन छ डरै-डर ?

काठमाडौँ । नेपाली शेयर बजार आज पनि ओरालो लागेको छ । पछिल्लो समय बजार निरन्तर सुस्त देखिँदै आएको छ र लगानीकर्ताको विश्वास कमजोर भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले लाभांशको घोषणा गरे पनि बजारमा अपेक्षित सक्रियता देखिएको छैन, जसले लगानीकर्तालाई निराश बनाएको छ ।
सरकारले नेप्सेको संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको भए पनि बजारमा उत्साह बढाउन सकेको छैन । भावनात्मक उतार–चढाव र अनुभवहीन लगानीकर्ताको हडबडीले बजारमा उत्साह कम गरेको छ । ब्याजदर घट्दै गए पनि नियामक निकायहरूले नीति सुधारमा ध्यान दिएकाले पनि बजारमा ठूलो प्रतिक्रिया आएको छैन।
राजनीतिक अस्थिरता, आगामी आन्दोलनका खबर र बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिक विवरणले नकारात्मक संकेत दिँदा लगानीकर्तामा जोखिम लिने डर बढेको छ । धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको तथ्यले दीर्घकालीन लगानीकर्तासमेत सतर्क बनाएको छ । विश्लेषकहरूले बजारको अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गर्न थालेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.९३ अकंले घटेर २५६०.१५ बिन्द भएको छ । आज ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
बिहिबार ७ कम्पनीको शेयर मूल्य घटेको छ । आज वाणिज्य बैंक समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको ०.०८ प्रतिशत, फाइनान्स समूहको ०.७१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५२ प्रतिशत र जीवन बीमा समूहको ०.०६ प्रतिशतले शेयर मूल्य घटेको हो ।
यसदिन ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य आज स्थिर रहेको हो ।














