यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति सम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

४ मंसिर २०८२, बिहीबार १६:२४

काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति सम्बन्धी मुद्दा हेर्न नभ्याइने भएको छ । उच्च अदालत पाटनमा यूएस बंगला विमान कम्पनीले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्धको मुद्दा १० नम्बर पेसी सूचीमा रहेको थियो ।

एयरलाइन्सले दायर गरेको निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र कृष्णमुरारी शिवाकोटीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

जिल्ला अदालतले क्षतिपूर्ति तिराउने फैसलाविरुद्ध कम्पनीका तर्फबाट तेजेन्द्र गिरीले गत भदौ १५ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए । जिल्ला अदालत काठमाडौँले दुर्घटनामा ज्यान गुमाएका १७ परिवारले क्षतिपूर्ति पाउनुपर्ने पक्षमा फैसला गरेपछि विमान कम्पनी उच्च अदालत पुगेको हो ।

२०७४ फागुन २८ गते (सन् २०१८ मार्च १२) गते काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना भएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले फैसला गरेको थियो ।

क्षतिपूर्ति मृतकको पृष्ठभूमि र उमेर हेरेर तय गरिएको छ । सो दुर्घटनामा ज्यान गुमाएका बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीहरूको हकमा १ लाख ७० हजार ३८२ अमेरिकी डलर अर्थात् २ करोड ३४ लाख रुपैयाँ र एमबीबीएस डाक्टरको हकमा १ लाख ७९ हजार ४१८ अमेरिकी डलर (२ करोड ४७ लाख ३२ हजार रुपैयाँ) तिर्नुपर्ने फैसलामा भनिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*