छिटो पैसा कमाइने प्रलोभनले अनलाइन ठगी बढ्दै, सतर्क रहन सबैलाई प्रहरीको आग्रह

४ मंसिर २०८२, बिहीबार १७:३४

काठमाडौँ ।  नेपाल प्रहरीले हालका दिनहरूमा सामाजिक सञ्जाल तथा अनलाइनका विभिन्न माध्यममार्फत फैलिँदै गएको अनलाइन ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी ‘एसएमसी एप’ जस्ता नाम प्रयोग गरी छिटो पैसा कमाइदिन सकिने, साथीहरूलाई जोड्दा थप बोनस पाइने, केही मिनेटमै आम्दानी बढ्ने जस्ता लोभलाग्दा प्रलोभन देखाई सर्वसाधारणलाई जालमा पार्ने प्रवृत्ति तीव्र रूपमा बढेको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार ठगी समूहहरूले सुरुमा सजिलो आयको आश्वासन दिएर प्रयोगकर्ताबाट खाता रिचार्ज गर्नुपर्ने, सेवा सक्रिय गर्न कर तिर्नुपर्ने, रकम फिर्ता गर्न अग्रिम शुल्क बुझाउनुपर्ने जस्ता विभिन्न बहाना बनाइ उपभोक्ताबाट ठूलो रकम उठाइ पटक–पटक ठगी गरिरहेको पाइएको छ। यस्तो प्रकारको अनलाइन फन्दामा परेका धेरै व्यक्तिहरू आफ्नो रकम फिर्ता नपाएपछि मात्र प्रहरीसमक्ष उजुरी गर्न आइपुग्ने गरेका उदाहरणहरू पनि बढ्दै गएको जनाइएको छ।

विगत केही महिनादेखि सो प्रकारका अनलाइन ठगीमार्फत लाखौँ रुपैयाँसम्म हिनामिना भएको घटनामा तीव्र वृद्धि देखिएको प्रहरीको विश्लेषण छ। सामाजिक सञ्जालको व्यापक प्रयोग, आर्थिक लोभ, बेरोजगारीको अवस्थालाई लक्षित गर्दै ठगी समूहले नयाँ–नयाँ शैली अपनाइ सर्वसाधारणलाई छलिरहेका कारण जोखिम अझ बढ्दै गएको बताइएको छ।

नेपाल प्रहरीले यस्ता प्रलोभनपूर्ण प्रस्तावहरूमा नपर्न, कुनै पनि अनलाइन एप, योजना वा आम्दानीको दाबी गरिएको प्रणालीमा आफ्ना व्यक्तिगत विवरण वा रकम पठाउनुअघि राम्रोसँग जाँच–पड्ताल गर्न, शंका लागेमा नजिकैको प्रहरी कार्यालय वा साइबर शाखासँग तुरुन्त सम्पर्क राख्न सबैलाई अनुरोध गरेको छ। साथै, छिटो पैसा कमाइने भन्दै अचम्मलाग्दो प्रस्ताव आउने बित्तिकै त्यसको विश्वसनीयता अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्छ भन्नेमा प्रहरीले जोड दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*