धनकुटामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

काठमाडौं । धनकुटाको पाख्रिवासमा हाइस माइक्रोबस पल्टिंदा एक जनाले ज्यान गुमाएका छन् भने १४ जना घाइते भएका छन्। काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी कम्पनीको हाइस अनियन्त्रित भई पल्टिएर सडकबाट करीब ७० मिटर तल खसेको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी संखुवासभाकी ८२ वर्षीय सावित्रा कालाखेतीको उपचारको क्रममा ज्यान गएको हो। घाइते हुनेमा धनकुटाकी सुजता गिरी, संखुवासभाका संगीता राई, नरेन्द्र राई र लमू शेर्पा, उदयपुरका निर्जला राई, बिनिता राई र जेसन राई, सिन्धुलीका सन्तबहादुर तामाङ, भोजपुरका पासाङ शेर्पा, रत्नबहादुर विक र सवारी चालक दिपेन्द्र बुढाथोकी रहेका छन्।
गम्भीर घाइते भएका चालक र रत्नबहादुर विकलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको छ। दुर्घटनाको कारण र घाइतेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।













