हेटौडामा सडक फराकिलो बनाउने निर्णय, ठाउँ खाली गर्न सूचना

काठमाडौँ । मकवानपुरको हेटौँडा बजार क्षेत्रमा तीव्र गतिमा फैलिँदै गएको सडक अतिक्रमण रोक्न सडक डिभिजन कार्यालय हेटौँडा पुनः कडाइका साथ अघि बढेको छ। डिभिजनले शुक्रबार नयाँ सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोक–सामरी पुल मार्गसम्मका सबै संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सुरक्षा जोखिम चुलिँदै गएपछि डिभिजनले लामो समयपछि फेरि कडा कदम चाल्दै सार्वजनिक सडक सीमा खाली गर्ने अभियानलाई तीव्रता प्रदान गरेको हो। विगतमा पटक–पटक सूचना र चेतावनी जारी हुँदाहुँदै पनि अतिक्रमण नघटेकाले यसपटक डिभिजन कडाइपूर्वक अगाडि बढ्ने तयारीमा छ।
सडक विभागका मापदण्डअनुसार दुवै राजमार्गमा सडक केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र सार्वजनिक सडक क्षेत्र मानिन्छ। सार्वजनिक सडक ऐन, २०३१ ले सो क्षेत्रमा कुनै पनि स्थायी वा अस्थायी निर्माण, जग्गा आवादी, कुलो–खाडल खन्ने, तगारो गाड्ने, बाटो खोल्नेजस्ता गतिविधिलाई स्पष्ट रूपमा निषेध गरेको छ।
डिभिजनले जारी गरेको सूचनामा रातोमाटेदेखि राप्ती रोड र बुद्धचोक–सामरी पुल क्षेत्रमा व्यापक रूपमा संरचना निर्माण गरी सडक सीमा अतिक्रमण भएको उल्लेख गर्दै सम्बन्धित सबैलाई स्वेच्छाले संरचना हटाउन अनुरोध गरिएको छ।














