दुबई एयर शोमा प्रदर्शनका क्रममा भारतको तेजस लडाकु विमान दुर्घटना

५ मंसिर २०८२, शुक्रबार १७:४०

काठमाडौँ । दुबई एयर शोमा प्रस्तुति उडान गरिरहेको भारतको ‘तेजस’ लडाकु विमान शुक्रबार आकस्मिक रूपमा दुर्घटनाग्रस्त भएको छ। नियमित प्रदर्शन उडानको क्रममा विमानले अचानक नियन्त्रण गुमाउँदै तल झर्दै गएको दृश्य दर्शकले रेकर्ड गरेका भिडियोहरू अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिइरहेका छन्।

दुर्घटना भएपछि दुर्घटनास्थल वरपर कालो धुँवा र आगोको जेठो लप्का देखिएको थियो। नजिकै तैनाथ सुरक्षा तथा उद्धार टोलीहरू शीघ्र रूपमा त्यतैतिर धाइपुगेका थिए। प्रारम्भिक क्षणमै आगो नियन्त्रणमा लिन प्रयास गरिएको भए पनि पाइलटको अवस्थाबारे आधिकारिक पुष्टि भने आएको छैन।

घटनापछि भारतीय वायुसेनाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको पुष्टि गरेको छ। ‘दुबई एयर शो–२५ मा प्रदर्शन उडानका क्रममा भारतीय वायुसेनाको तेजस विमान खसेको छ। घटनाका थप विवरण संकलन भइरहेको छ। केही बेरमै हामी अद्यावधिक जानकारी सार्वजनिक गर्नेछौं’ विज्ञप्तिमा उल्लेख छ।

दुबई एयर शोमा सहभागी अन्तर्राष्ट्रिय टोली र आयोजनाकर्ता पक्षले पनि दुर्घटनाबारे आवश्यक समन्वय गर्न थालेका छन्। दुर्घटनाको कारण प्राविधिक समस्या, खराब मौसम वा अन्य कुनै कारण रहे–नरहेकोबारे आधिकारिक रूपमा केही नखुलाइए पनि अनुसन्धान प्रक्रिया सुरु भइसकेको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*