प्राइम बैंकले ऋणीमाथि गरेको अपराध छानविन गर्न आनाकानी गर्दै राष्ट्र बैंक, अर्थमन्त्रालयले माग्यो विवरण

७ मंसिर २०८२, आईतवार १२:१७

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणीमाथि गरेको वित्तीय अपराध छानविन गर्न नेपाल राष्ट्र बैंकले आनाकानी गरिरहेको पाइएको छ । नियमन क्षमता गुमाउँदै गएको राष्ट्र बैंकले पछिल्लो पटक गत कार्तिक २१ गते दोस्रो पत्र पठाउँदै छानविन गर्नु भन्ने यसअघिको पत्रको कार्यान्वयन भए नभएको भन्दै ताकेता गरेर अर्को पत्र पठाउँदा समेत केन्द्रीय बैंकका कर्मचारीहरु उक्त काण्ड भित्रभित्रै मिलाउन सेटिङ हानिरहेका छन् ।

२०७७ साल मंसिर २१ गतेको मितिमा अर्थ मन्त्रालयले पोखरास्थित पन्थी डेरी प्रा.लि.को नाममा तत्कालिन कैलाश विकास बैंक, हालको प्राइम बैंकबाट प्रवाह भएको भनिएको कर्जाको वास्तविक ऋणी कर्जा लिएको मान्न सकिने अवस्था नदेखिएको भन्दै नेपाल राष्ट्र बैंक र सिईआईबीसहित मिलेर छानविन गराउने निर्णय गरेको थियो । सो निर्णय हालसम्म पनि नेपाल राष्ट्र बैंकले छानविन गर्न सकेको छैन ।

प्राइम बैंकले पोखरास्थित पन्थी डेरी काण्डमा ४० लाख रुपैयाँ खर्च गरेको पाइएको थियो । सो रकम राष्ट्र बैंकका उच्च अधिकारीहरु समक्ष पनि पुगेका कारण छानविनमा ढिलाई भइरहेको आशंका गरिएको छ । यद्यपि केन्द्रीय बैंकले सो सम्बन्धमा केही बताउन चाहेको छैन ।

२०७७ साल मंसिर २१ गतेको निर्णय कार्यान्वयन नभएको सम्बन्धमा अर्थमन्त्रालयले दोस्रो पत्र काटेपछि यतिबेला राष्ट्र बैंकका भ्रष्ट कर्मचारीहरु भने केही तनावमा परेको बुझिएको छ । यसअघि कर्णाली विकास बैंकमा राष्ट्र बैंकका केही कर्मचारी विवादमा परेका कारण प्राइम बैंक काण्डमा पनि केन्द्रीय बैंकको तत्कालिन समयमा नियमन शाखामा बसेकाहरुको तनाव बढेको बताइन्छ ।

हालको प्राइम बैंक अर्थात तत्कालिन कैलाश विकास बैंकका सिईओ अमृत चरण श्रेष्ठ जो हाल प्राइम बैंकमा महाप्रबन्धक रहेका छन्, उनी समेतको मिलेमतोमा पोखरामा राम्रो चलिरहेको पन्थी डेरी प्रा.लि.को नाममा एक करोड ५० लाख रुपैयाँको चेक काटी पोखरास्थित लामबगर शाखा प्रमुख नरेन्द्र थापाले हिनामिना गरिदिएका थिए । सो सम्बन्धमा बैंकले गरेको आन्तरिक छानविनको क्रममा उक्त रकम ऋणीले लिएको नभई शाखा प्रमुख आफैले चेक साटेर लिएको खुलेको थियो । बैंकको आन्तरिक छानविनको क्रममा वास्तविक ऋणीले नभई बैंककै कर्मचारीले त्रुटी गरेको भन्ने छानविनको क्रममा पत्ता लागेको थियो । छानविनको क्रममा ऋणीले ऋण बापतको रकम लिएको नभई आफ्नै कर्मचारीले चलाएको भन्ने घटनापछि पनि बैंकले ऋणीलाई ऋणको भार बोकाउँदै आएको छ भने दोषी कर्मचारी नरेन्द्र थापाले सिईओ अमृतचरणसमेतलाई कमिशन दिन रकम लिएको हल्ला उतिबेला नै चलेको थियो । सो घटनामा संलग्न कर्मचारीलाई हालसम्म पनि बैंकले संरक्षण गरेर राखेको छ ।

प्राइम बैंकभित्र भएको वित्तीय अपराधको सम्बन्धमा सिआईबीले छानविन गर्ने वित्तिकै महाप्रबन्धक अमृतचरण श्रेष्ठ पक्राउ पर्ने अवस्था छ भने वर्तमान सिईओ संजिव मानन्धर पनि अपराधको संरक्षण गरेको आरोपमा पक्राउ पर्ने सम्भावना छ ।

यति ठूलो घटनाको सम्बन्धमा केन्द्रीय बैंक मौन रहनुले आम जनतामा बैंक तथा वित्तीय संस्थाप्रतिको विश्वास विस्तारै गुम्दै जाने देखिन्छ ।

प्राइम बैंकभित्र बैंकिङ कसूरको अपराध, कमल ज्ञवाली पक्राउ पर्दा अमृतचरणलाई उन्मुक्ति किन ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*