पूर्व प्रधानमन्त्री प्रचण्डको बैंक खाता एभरेष्ट बैंकमा, छानविन समितिलाई बैंकले दिएन कारोबार विवरण

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको दमनका सम्बन्धमा छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिलाई एभरेष्ट बैंकले पूर्व प्रधानमन्त्री प्रचण्डको खाता विवरण दिन अस्वीकार गरेको पाइएको छ ।
पूर्व प्रधानमन्त्री प्रचण्डको नाममा एभरेष्ट बैंकमा करिब १४ बर्षअघि एभरेष्ट बैंकमा खाता खोलिएको थियो । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा रहेको ….७१९ नम्बरको बैंक खाताबारे बैंकले केन्द्रीय बैकलाई खाता रहेको भन्ने सम्मको विवरण दिएपनि बैंकमा प्रचण्डले गरेको कारोबार विवरणसहितको तथ्याङ्क भने नदिएको उच्चस्तरीय स्रोतले जानकारी दिएको छ ।
बीमापोष्टलाई प्राप्त सूचना अनुसार पूर्व प्रधानमन्त्री प्रचण्डले उक्त बैंक खातामा धेरै रकम भने कारोबार गर्ने गरेका छैनन् । पछिल्लो समय उक्त खातामा पाँच हजार भन्दा न्यून ब्यालेन्स रहेको बताइएको छ ।
उता, एभरेष्ट बैंकका सूचना अधिकारी केशव पौडेलले भने नेपाल राष्ट्र बैंकले औपचारिक रुपमा पत्राचार भएको अवस्थामा बैंकले कारोबार विवरण दिनै पर्ने कानुनी अवस्था रहेकोले यसबारे शंका नगर्न आग्रह गरेका छन् ।
उता, राष्ट्र बैंकले स्रोतले हाल छानविन समितिलाई पूर्व प्रधानमन्त्रीहरुको कारोबार विवरण पेश नगरिएको र कुन कुन नेताको कुन कुन बैंक खाता रहेको छ भन्ने सम्मको मात्रै जानकारी मात्रै दिएको जनाएको छ ।
सरकारले गठन गरेको छानविन समितिलाई कारोबार विवरण नदिने सम्बन्धमा केन्द्रीय बैंकले समेत बैंकहरुलाई प्रोत्साहन गर्दै आएको पाइएको छ ।













