दार्चुलाका तीन गाउँपालिकामा बीमा प्राधिकरणको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, कैलालीको आयोजनामा दार्चुला जिल्लास्थित नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम क्रमशः सम्पन्न भएको छ।
कार्यक्रमहरू मंसिर ४, ५ र ७ गते विभिन्न गाउँपालिकामा आयोजित भएका थिए, जसमा स्थानीय तहका जनप्रतिनिधिदेखि सरोकारवाला समूहहरूको उल्लेख्य उपस्थिति छ ।
मंसिर ४ गते नौगाड गाउँपालिकामा सम्पन्न पहिलो कार्यक्रम गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगत सिंह ठगुन्नाको विशेष आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुस्कर सिंह धामी, विभिन्न वडा अध्यक्षहरू, गाउँकार्यपालिका सदस्य, शिक्षक, कर्मचारी, अगुवा कृषक तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी, मंसिर ५ गते मार्मा गाउँपालिकामा आयोजना गरिएको दोस्रो कार्यक्रम गाउँपालिका उपाध्यक्ष शर्मिला कुमारी चन्द सिंहको प्रमुख आतिथ्यता र गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दन सिंह ठगुन्नाको विशेष आतिथ्यतामा सम्पन्न भयो। सो कार्यक्रममा पनि वडा अध्यक्षहरू, निर्वाचित जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
यस्तै, मंसिर ७ गते अपिहिमाल गाउँपालिकामा आयोजित तेस्रो चरणको अन्तरक्रिया तथा छलफल कार्यक्रम गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको प्रमुख आतिथ्यता तथा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र साउद र वडा अध्यक्षहरूको आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा गाउँकार्यपालिका सदस्य, शिक्षक, कर्मचारी, अगुवा कृषक, निर्वाचित जनप्रतिनिधि लगायत स्थानीय समुदायका सहभागीहरूले बीमा सम्बन्धी विषयमा आफ्ना जिज्ञासा तथा सुझावहरू राखेका थिए।












