एनपीएलमा आज दुई रोमाञ्चक खेल, विराटनगर–जनकपुर र कर्णाली–सुदूरपश्चिम आमनेसामने

८ मंसिर २०८२, सोमबार १०:४२

काठमाडौँ । एक दिनको विश्रामपछि नेपाल प्रिमियर लिग (एनपीएल) आज पुनः प्रतिस्पर्धामा फर्किंदैछ। लिगअन्तर्गत आज दुई महत्वपूर्ण खेलहरू हुनेछ, जसले अंकतालिकाको शीर्ष स्थानमा रहेका टोलीहरूको अवस्थालाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।

पहिलो खेलमा हाल ४ अंकसहित नेट रनरेटका आधारमा शीर्ष स्थान ओगटिरहेको विराटनगर किंग्स आज जनकपुर बोल्ट्ससँग भिड्नेछ। जनकपुरले अहिलेसम्म एक खेल खेले पनि अंक जोड्न सकेको छैन। उद्घाटन खेलमै काठमाडौँ गोर्खाजसँग हार बेहोरेको जनकपुर आज पहिलो जितको खोजीमा मैदान उत्रन लागेको हो। उता, लगातार दुई खेलमा विजयी रहँदै अविजित रहेको विराटनगरले आफ्नो शानदार यात्रा कायम राख्ने लक्ष्य राखेको छ।

यसैबीच, दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयाल्स आमनेसामने हुँदैछन्। लुम्बिनी लायन्समाथि प्रभावशाली जीत हात पारेपछि उच्च आत्मविश्वासमा रहेको कर्णाली आज सुदूरपश्चिमलाई चुनौती दिन तयार छ। हालसम्मका दुवै खेल जित्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले भने लगातार विजयक्रमलाई निरन्तरता दिन चाहन्छ। कर्णाली याक्सले पहिले खेलिएको आफ्नै उद्घाटन खेलमा चितवन राइनोजसँग हार व्यहोरेको थियो।

आजको पहिलो खेल दिउँसो ११:४५ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल साँझ ४ बजे निर्धारित समय अनुसार खेलिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*