उपभोक्ता ठग्दै अर्घाखाँची सिमेन्ट, गुणस्तरको नाममा भ्रम छर्दा वाणिज्य विभागको फन्दामा

काठमाडौं । ब्यवसायी पशुपति मुरारकाको स्वामित्वमा रहेको अर्घाखाँची सिमेन्ट गुणस्तरहीन सामान बजारमा पुर्याउँदै उपभोक्तामाथि निरन्तर ठगी गर्दै आएको तथ्य बाहिर आएको छ । उपभोक्ताको विश्वासमा चोट पुर्याउँदै, गुणस्तरको नाममा भ्रम छर्दै र ऐन–कानुनको धज्जी उडाउँदै कम्पनीले अवैध तथा अनुचित व्यापारिक क्रियाकलाप गर्दै आएको विषय सरकारी निकायकै अनुगमनबाट प्रमाणित भएको हो ।
उपभोक्ताको गुनासोहरू बढ्दै गएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगमा अनुगमन थालेको हो । अनुगमनका क्रममा उद्योगले ग्राहकलाई झुक्काउने, गुणस्तरहीन सामान बजारमा पठाउने, वस्तुको वास्तविक अवस्था लुकाएर बेच्ने जस्ता गम्भीर अनियमितता गरेको पुष्टि भएको विभागले जनाएको छ। विभागले तत्कालै कारवाही प्रक्रिया अघि बढाउँदै कम्पनीलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना तोकेको छ ।
उपभोक्तालाई विश्वसनीय सेवा र वस्तु उपलब्ध गराउन बनेको उपभोक्ता संरक्षण ऐन, २०७५ को एकपछि अर्को प्रावधानको खुल्लमखुल्ला उल्लंघन गर्दै आएको अर्घाखाँची सिमेन्ट ‘गुणस्तर’ र ‘ब्रान्ड’ नाममा उपभोक्तालाई धोका दिइरहेको सरकारी निकायको ठहर छ। देशभरका निर्माण उपभोक्ताले विश्वास गरेर खरिद गर्दै आएको एक स्थापित ब्रान्डले यति गैरजिम्मेवार र गैरकानुनी गतिविधि गर्नुलाई विभागले गम्भीर रूपमा लिएकोछ।
अर्घाखाँची सिमेन्टविरुद्ध गरेको कारवाही उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) र दफा ३८ (ङ) मा वर्णित कसुर प्रमाणित भएको आधारमा गरिएको हो। दफा १६ (२) ले ‘वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट जस्ता महत्वपूर्ण विवरण लुकाएर, ढाँटी वा झुक्याएर बिक्री वितरण गर्नेलाई कसुरदार मानिने’ व्यवस्था गरेको छ। कम्पनीले उपभोक्तालाई यही बाटो प्रयोग गरेर ठगेको विभागको ठहर रहेको छ।
यस्तै, दफा ३८ (ङ) ले ‘कुनै वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी गर्ने, बिक्री गरेको वस्तुको बिल वा बिजक दिन इन्कार गर्ने, बिल जारी गर्दा थप रकम असुल्ने, उपभोग्य अवधि सकिएका वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल टाँसेर बिक्री गर्ने’ जस्ता कार्यहरूलाई दण्डनीय ठहर गरेको छ । अनुगमनका क्रममा कम्पनीसँग सम्बन्धित यस्ता क्रियाकलाप देखिएको विभागले जनाएको छ।
अर्घाखाँची सिमेन्टले गुणस्तरहीन सिमेन्ट बिक्री गरेको मात्र होइन उपभोक्तालाई झुक्क्याउने उद्देश्यले उत्पादनमा उल्लेखित वास्तविक विवरणलाई समेत तोडमोड गरेको प्रमाण भेटिएको अनुगमन टोलीले बताएको छ। निर्माणजस्तो संवेदनशील क्षेत्रमा गुणस्तरहीन वस्तुको प्रयोगले मानिसको जीवन, सम्पत्ति र दीर्घकालीन संरचनामा पर्ने जोखिमका कारण यसलाई अझै गम्भीर मानिएको छ।
विभागले आइतबार रूपन्देहीका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक गरेको बजार अनुगमन अभियानका क्रममा अर्घाखाँची सिमेन्टसँगै अन्य केही उद्योग र व्यवसायमा पनि विभिन्न अनियमितता देखिएको हो ।
उपभोक्ता संरक्षण ऐनको दफा ३९ ले बजार अनुमगन, निरीक्षण वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणका आधारमा उत्पादन, ढुवानी, सञ्चयन, आयात, बिक्री वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्कालै दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था गरेको छ। अर्घाखाँची सिमेन्टलाई तोकिएको २ लाख ५ हजार रुपैयाँको जरिवाना पनि यही प्रावधानअनुसार हो।
देशभर निर्माण व्यवसाय चुलिइरहेको बेला गुणस्तरहीन सिमेन्ट बजारमा उपलब्ध हुँदा त्यो जोखिमको भार अन्ततः आम उपभोक्तामै पर्छ। घर, भवन, व्यावसायिक संरचना, सार्वजनिक संरचनासबैका लागि सिमेन्ट मुख्य आधार हो। त्यही सिमेन्ट बनाउने कम्पनीले नै गुणस्तरमा लापरबाही गर्दा निर्माण क्षेत्रको दीर्घकालीन संरचनात्मक स्थायित्व नै कमजोर बनाउने खतरा रहन्छ।













