‘विन नेपाल लघुवित्तको १२औँ वर्षमा प्रवेश: विपन्न समुदायलाई वित्तीय सशक्तीकरणको निरन्तर यात्रा’

९ मंसिर २०८२, मंगलवार ११:११

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १२औँ वर्षमा प्रवेश गरेको छ। २०७१ मंसिर ८ गते औपचारिक रूपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफलतापूर्वक पूरा गरी १२औँ वर्षको यात्रामा कदम बढाएको हो।

ग्रामीण भेगका न्युन आय भएका तथा अल्पसंख्यक नागरिकलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको लघुवित्तले आफ्नो स्थापनादेखिको यात्रालाई सामाजिक उत्तरदायित्वसहित निरन्तर अगाडि बढाइरहेको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले पोर्टेज तथा पुनःस्थापना संस्था नेपालद्वारा सञ्चालन हुँदै आएको पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडा, निर्देशक तथा व्यवस्थापन टोलीका प्रतिनिधिहरू विशेष विद्यालयमा पुगेका थिए। उनीहरूले बालबालिकालाई शैक्षिक सामग्री हातमै पुर्‍याउँदै सामाजिक उत्तरदायित्वलाई संस्थाको प्रमुख मूल्यका रूपमा आफूहरूले निरन्तर जीवन्त राख्दै आएको पुष्टि गरे।

विन नेपाल लघुवित्तको यात्रामा ग्रामीण भेगलाई प्राथमिकताका साथ समेटिएको छ। विशेषगरी बागमती प्रदेशका ८ जिल्लामा सेवा विस्तार गर्दै आएको संस्थाले हाल २१ शाखामार्फत कारोबार सञ्चालन गरिरहेको छ। काभ्रेपलाञ्चोकको साँगामा रहेको केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित शाखाहरूले दुर्गम वडासम्म पुगेर वित्तीय सेवा प्रदान गरिरहेका छन्। वित्तीय पहुँच न्यून रहेको भेगमा वचत, कर्जा, बीमा, सीप विकास जस्ता वित्तीय तथा सामाजिक सेवाहरू पुर्‍याउनु नै संस्थाको मूल दृष्टि रहेको छ।

लघुवित्तको पछिल्लो त्रैमासिक विवरणअनुसार संस्थाको चुक्ता पुँजी ८ करोड ४३ लाख रुपैयाँ पुगेको छ। स्थापना कालदेखि निरन्तर वृद्धि र विस्तारको बाटो समातेको संस्थाले विगत वर्षहरूमा आफूलाई ग्रामीण समुदायको महत्वपूर्ण वित्तीय साझेदारका रूपमा स्थापित गरिसकेको छ।

लघुवित्तलाई गरिबी निवारणको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ। ग्रामीण भेगमा बसोबास गर्ने निम्न आय वर्गका नागरिकलाई वित्तीय सेवाको पहुँच नहुँदा उनीहरू साहु–महाजनको चर्को व्याजदरमा निर्भर हुनुपर्ने अवस्था रहँदै आएको थियो। लघुवित्त वित्तीय संस्थाहरूको विकाससँगै स्थानीय समुदायको आर्थिक सक्रियता बढ्दै गएको छ। विन नेपाल लघुवित्तले पनि यही उद्देश्यका साथ दूरदराजका बस्तीमा वचत अभिवृद्धि, साना उद्यम सञ्चालन, सीपमूलक कार्यक्रम र स्वावलम्बनमुखी योजनाहरूलाई निरन्तर प्रोत्साहन दिँदै आएको छ।

संस्थाको लक्ष्य समूह महिलालाई प्राथमिकतामा राखेर बनाइएको छ। ग्रामीण क्षेत्रका विपन्न परिवार, अल्पसंख्यक समुदाय, साना किसान तथा सीमान्तकृत वर्गलाई समूहमा समेटेर वित्तीय सेवा प्रदान गर्ने मोडेल अपनाइएको छ। लक्ष्य समूह छनोटका मापदण्डहरू जमीन–जग्गा स्वामित्व, परिवारको आयस्तर, सामाजिक अवस्था तथा स्थानीय सांस्कृतिक परिवेशका आधारमा तय गरिन्छ। यस प्रक्रिया मार्फत संस्थाले आर्थिक रूपमा कमजोर रहेको समूहलाई वित्तीय सेवासँगै क्षमता अभिवृद्धिको अवसर पनि प्रदान गर्दै आएको छ।

विन नेपाल लघुवित्तको दृष्टि ग्रामीण समुदायको आर्थिक सक्षमता अभिवृद्धि गर्दै गरिबी न्यूनीकरण गर्ने रहेको छ। स्थानीय स्रोत–साधनको उपयोग, घरेलु उद्यम विस्तार, साना व्यवसाय विकास तथा वित्तीय सचेतना कार्यक्रममार्फत सेवा विस्तार गरिने संस्थाको लक्ष्य छ।

संस्थाको ध्येय वचत संस्कृतिलाई प्रोत्साहन गर्दै उत्पादनमुखी क्षेत्रमा प्रवाह हुने कर्जालाई विस्तार गर्नु हो। यसरी कर्जा लगानीका माध्यमबाट आयस्तर वृद्धि र आर्थिक गतिविधिलाई सशक्त बनाउने उद्देश्य लिइएको छ। संस्थाले गरिब, विपन्न तथा सीमान्तकृत वर्गलाई सूक्ष्म कर्जा प्रवाह गर्दा जोखिम व्यवस्थापन तथा आर्थिक क्षमता मूल्यांकनसम्बन्धी स्पष्ट मापदण्ड अपनाएका कारण विगत वर्षहरूमा कर्जा चुक्ता दर उच्च देखिएको छ। ग्रामीण आर्थिक गतिविधि विस्तार, महिला उद्यमशीलता वृद्धि, कृषि तथा पशुपालन व्यवसायको सुदृढीकरणजस्ता योजनामा कर्जा लगानी भइरहेको संस्थाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*