राष्ट्र बैंकद्धारा मुद्रास्फीति मापन गर्ने सूचकाङ्क र आधारभूत ढाँचा परिमार्जन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रास्फीति मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्कको गणना प्रणाली र आधारभूत ढाँचामा व्यापक परिमार्जन गरेको छ ।
पछिल्लो समय परिवर्तन भइरहेको नेपालीको उपभोग ढाँचालाई सही रूपमा प्रतिबिम्बित गर्न तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन सूचकाङ्कको आधार वर्ष अद्यावधिक गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको नेपालमा उपभोक्ता मूल्य सूचकाङ्कको सङ्कलन सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार परिमार्जन मार्फत सीपीआईको आधार वर्ष (सन्दर्भ अवधि) र खर्च भारको संरचनामा समेत फेरबदल गरेको छ ।
उपभोक्ता मूल्य सूचकाङ्कका मापनको आधार वर्ष (सन्दर्भ अवधि) अहिलेसम्म छैटौँ पटक परिवर्तन गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले हरेक महिना जारी गर्ने उपभोक्ता मूल्यको तथ्याङ्क नयाँ संशोधित आधार वर्ष २०२३÷२४ (आर्थिक वर्ष २०८०÷८१) कायम गरिएको छ ।
राष्ट्र बैंकले अहिलेसम्म २०१४÷१५ अर्थात (२०७१÷७२)लाई आधार वर्षका रूपमा लिइँदै आएको थियो । अब भने आर्थिक वर्ष २०८०÷८१लाई आधार मानेर उपभोक्ता मूल्य मापन हुने छ । जसले विगत पाँच दशकदेखि प्रयोग हुँदै आएको २०१४÷१५ को आधार वर्षलाई प्रतिस्थापन गरेको छ ।
त्यस्तै, सीपीआईको भार निर्धारणका लागि यस पटक राष्ट्र बैंकले नयाँ र महत्त्वपूर्ण कदम चालेको छ । आफ्नै छुट्टै घरपरिवार बजेट सर्वेक्षण सञ्चालन गर्नुको सट्टा, स्रोतको दोहोरोपना हटाउँदै र राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय बढाउँदै चौथो नेपाल जीवनस्तर सर्वेक्षण,२०२२÷२३ बाट प्राप्त विस्तृत खर्चको तथ्याङ्क प्रयोग गरिएको छ ।
राष्ट्र बैंकको उक्त प्रतिवेदनले पछिल्लो समय नेपाली घरपरिवारको उपभोग ढाँचामा संरचनात्मक बदलाव आएको पुष्टि गरेको छ ।
समग्र सीपीआई बास्केटमा खाद्य तथा पेय पदार्थ समूहको भार विगतको ४३.९१ प्रतिशतबाट घटेर ३५.४९ प्रतिशतमा सङ्कुचित भएको छ । यसको ठिक विपरीत, गैर–खाद्य तथा सेवा समूहको भार ५६.०९ प्रतिशतबाट बढेर ६४.५१ प्रतिशत पुगेको देखाएको छ ।
नेपाली उपभोक्ताहरू आधारभूत खाद्यवस्तुको तुलनामा शिक्षा, स्वास्थ्य, यातायात र अन्य सेवाहरूमा बढी खर्च गर्न थालेको स्पष्ट सङ्केत गरेको छ । गैर–खाद्य समूह अन्तर्गत, आवास तथा उपभोग्य सेवाले१६.६६ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवा ले ८.०० प्रतिशत भार ओगटेका छन् ।
उपभोक्ता मूल्य सूचकाङ्कको प्रतिनिधिमूलक क्षमता बढाउन वस्तु तथा सेवाको बास्केट र भौगोलिक कभरेजमा उल्लेखनीय वृद्धि गरिएको छ ।
राष्ट्र बैंकले गरेको क्षेत्र विस्तारले ग्रामीण, सहरी दुवै क्षेत्र र हिमाल, पहाड र तराई लगायत सबै पारिस्थितिकीय क्षेत्रहरूको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुने देखिएको छ ।
गणना विधि र तथ्याङ्क प्रकाशनमा सुधार
राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको गणनाको विधिमा पनि सुधार गरेको छ । उच्च–स्तरीय एग्रिगेसनका लागि विगतको भारित ज्यामितीय लासपेयर्स विधिको सट्टा अब अन्तर्राष्ट्रिय उत्तम अभ्यास अनुरूप भारित अंकगणितीय परिमार्जित लासपेयर्स औसत विधिलाई अपनाइएको छ। यद्यपि, प्राथमिक स्तरमा ज्यामितीय माध्यको प्रयोग भने यथावत् छ ।
तथ्याङ्कको शुद्धता कायम गर्न मूल्य सङ्कलन प्रक्रियालाई परिमार्जन गरी केन्द्रीकृत मूल्य सङ्कलन संयन्त्र (पेट्रोल, सुन, कर्जा शुल्क लगायत २८ वस्तुका लागि) र वेबमा आधारित दोहोरो प्रमाणीकरण प्रणाली लागू गरिएको छ।
राष्ट्र बैंकले पहिलो पटक प्रादेशिक स्तरमा उपभोक्ता मूल्य सूचकाङ्क लाई ग्रामीण र सहरी क्षेत्र अनुसार वर्गीकरण गरेर प्रकाशन गर्ने भएको छ ।













