पुँजी बजारमा उत्साहः अधिकांश कम्पनी शेयर मूल्यमा उछाल, यी कारणले अझै देखिने छ रौनक

काठमाडौँ । शेयर बजार आज पनि हरियाली देखिएको छ । दुई दिन लगातार उच्च सुधारपछि बजार आज सामान्य अंकले मात्र बढेको हो । बजार बढ्दा केही लगानीकर्ताले नाफा बुकिङ गर्दै बजारलाई सन्तुलित बनाएका छन् । पछिल्लो समय लगातार हरियाली आएको र लगानीकर्तामा उत्साहको वातावरण कायम रहेको छ ।
प्रथम त्रैमासिक वित्तीय विवरणको प्रतिक्षामा रहेका लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा थिए। त्यसपछि बजार घट्न थालेसँगै बैंकहरूले शेयर धितो कर्जामा आधार दरमा नै ब्याज दर घटाउन सुरु गरेका छन्। केही दिनअघि मात्र एनआईसी एशिया बैंकले यस्तो सुविधा ल्याएको थियो भने अन्य बैंकहरूले पनि यसतर्फ तयारी थालेको देखिन्छ । यसले लगानीकर्तामा उत्साह बढाएको विश्लेषकहरूले बताएका छन् ।
विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गरिरहेको समयमा बजारमा लगानी उत्साह बढेको छ। लाभांश सिजनले शेयर बजारमा सकारात्मक ऊर्जा थपिरहेको र लगानीकर्ताको ध्यान आकर्षित गरेको देखिएको छ । यसबाहेक, सरकारले नेप्सेको संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ भने नियामक निकाय पनि पुँजी बजार सुधारमा सक्रिय छ ।
तर, राजनीतिक अस्थिरता, आगामी आन्दोलनका खबर तथा बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासिक विवरणले लगानीकर्तामा जोखिमको भावना बढाएको छ । धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको तथ्यले दीर्घकालीन लगानीकर्तालाई सतर्क बनाएको छ । विश्लेषकहरूले बजारको अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गर्न थालेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले बढेर २६५५.९९ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ९ उपसूचकमा हरियाली आएको छ । मंगलबार १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।














