अध्यक्षतामा ओलीलाई टक्कर दिन मैदानमा उत्रिने ईश्वर पोखरेलको घोषणा

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउँदो ११औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका छन्। मंसिर अन्तिम साता तय भएको एघारौँ महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पुनः नेतृत्व कायम राख्ने तयारी गरिरहेकै बेला पोखरेलले सार्वजनिक रुपमा प्रतिस्पर्धामा उत्रने संकेत दिएपछि पार्टीभित्र नयाँ राजनीतिक हलचल देखिएको छ।
पार्टी अध्यक्ष ओलीले तेस्रोपटक अध्यक्ष बन्न पार्टी विधान संशोधन गराएकै विषयलाई स्मरण गर्दै पोखरेलले पछिल्लो समय नेतृत्व परिवर्तन आवश्यक भएको धारणा खुल्ला रुपमा व्यक्त गर्दै आएका छन्। विशेषगरी जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक कोर्स फरक मोडिएको उल्लेख गर्दै उनले नयाँ पुस्ताको अपेक्षाअनुसार एमालेले पनि नेतृत्वमा रूपान्तरण ल्याउनुपर्ने तर्क गर्दै आएका छन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलको यस घोषणापछि एमालेभित्र ११औँ महाधिवेशन प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ। ओली पक्ष भने अझै पनि नेकपा एमाले आफ्नो पुरानै संरचना र नेतृत्व शैलीमै अघि बढ्नुपर्ने मतमा रहेको देखिन्छ।













