लबिम मलमा ३० लाखको बीमा गर्दा ६ लाख क्यास ब्याक, हिमालयन एभरेष्टको गैरकानुनी धन्दा

काठमाडौं । हिमालयन एभरष्ट इन्स्योरेन्सले ३० लाख बीमा शुल्क लिएर छ लाख रुपैयाँ बीमा शुल्क बीमितलाई नै फिर्ता दिएको खुलेको छ ।
ललितपुरको लबिम मलको सम्पत्ति बीमा अन्तर्गत बीमा पोलिसी जारी गरी कम्पनीले ३० लाख रुपैयाँ बीमा शुल्क लिएको थियो । तर, सो रकम मध्ये मासिक ५० हजार रुपैयाँको दरले लबिम मललाई नै फिर्ता दिने गरी सम्झौता नै गरेको भेटिएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्नो विज्ञापन र प्रचार प्रसार गर्न बोर्ड राखेको भन्दै कम्पनीलाई नै छ लाख रुपैयाँ फिर्ता दिएको हो ।
ललितपुरको लबिम मलमा विज्ञापन खर्च देखाएर हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यास ब्याक दिएको हो । सो कम्पनीले अन्य बीमा पोलिसीहरुमा पनि त्यस्तै प्रकृतिको विभिन्न नाममा खर्च देखाएर भुक्तानी गर्ने गरेको पाइएको छ । कतिपय ठाउँमा कर्मचारीकै तलव समेत भुक्तानी दिएको देखाएर पनि क्यासब्याक गर्ने गरेको छ ।
नियामक बीमा प्राधिकरणले क्यास ब्याकलाई पूर्णतः निषेध गरेको छ । तीन वर्षअघि सुरु भएको क्यास ब्याक र उधारो बीमा अहिले फेरि ब्यूतिन थालेको छ । केही कम्पनीहरुले उधारो बीमा समेत गर्न थालेको गुनासो बजारमा फैलिन थालेको छ ।
त्यसो त केही समयअघि नियामक बीमा प्राधिकरणले क्यास ब्याकबारे स्थलगत अध्ययन समेत गरेको थियो । तर, कतिपय बीमा कम्पनीहरुले नियमनमा खटिएका कर्मचारीहरुलाई समेत राम्रोसँग फाइल नदेखाउने तथा कतिपय कर्मचारीहरुले खासै वास्ता नगरेको कारण क्यासब्याक रोक्न अभियान प्रभावकारी हुन सकेको छैन ।













