स्रोत नखुलेको ४ लाख रुपैयाँ सहित ५ जना पक्राउ

काठमाडौं । सर्लाही र सिराहामा गरी स्रोत नखुलेको ४ लाख २० हजार रुपैयाँ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको मलंगवा नगरपालिका–८ बाट १ लाख ९८ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा–४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मा रहेका छन्।
प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेको बा. ८९ प ६२५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचको क्रममा नगद सहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी सिराहा जिल्लाको सिरहा नगरपालिका–१७ बाट स्रोत नखुलेको भारतीय १ लाख ३९ हजार ३०० रुपैयाँ (नेपाली २ लाख २२ हजार) रुपैयाँ सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत मधुवनी जयनगर बस्ने २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मो. गुलसाह रहेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा नगद फेला परेपछि नियन्त्रणमा लिएको हो।













