जीवन बीमाले फेरिएको आइएमई लाइफकी गेल्मूको जिन्दगी, यसरी भइन् सफल (भिडियोसहित)

१० मंसिर २०८२, बुधबार १२:०८

मानिसको जिन्दगीको यात्रा सधैं सरल हुँदैन र सधैं असहज पनि हुँदैन । अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिंदै जीवनको लय अघि बढ्छ त्यस्तै जीवनका अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै आइएमई लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेकी गेल्मू लामाले यतिबेला सरल राजमार्गमा आफ्ना पाइलाहरू अगाडि बढाइरहेकी छिन् ।

सोलुखुम्बु चिवाङ–८ मा जन्मिएकी गेल्मू लामा यतिबेला आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चिफ एजेन्सी म्यानेजरको रूपमा आवद्ध भएकी छिन् । आइएमई लाइफकोे उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दीक्षित गेल्मू छोटो अवधिमै उत्कृष्ट एजेन्सीका साथै सीओटीसम्मको यात्रा पार गर्न सफल भइसकेकी छिन् ।

मिठो बोलीबचन र नम्र अनि भद्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान लिएर सानैदेखि आफ्नै व्यवसाय सञ्चालन गरेको अनुभवको उपयोगबाटै गेल्मूले आइएमई लाइफमा आबद्ध भएको केही समयमै लोभलाग्दो प्रगति गर्न सफल भएकी हुन् । काठमाडौंको व्यस्त शहर न्यूरोडमा व्यवसाय सञ्चालन गरिरहेकी गेल्मू लामाले अहिले एक सफल र क्षमतावान विजनेश वुमनको परिचय बनाएकी छिन् ।

निजी व्यवसायका साथै जीवन बीमा व्यवसायको राम्रो ज्ञान पाएकी उनी आफैंले पहिले जीवन बीमा कम्पनी अनि अभिकर्ताहरूको खोजी गर्दै त्यसैको माध्यमबाट बीमा व्यवसाय अँगाल्न पुगिन् । सम्भवतः अधिकांश अभिकर्ताहरू कोही न कोहीको सल्लाह अथवा करकापबाट नै आफू बीमा व्यवसायमा आएको सुनाउँछन् । तर गेल्मू लामाको कहानी भने त्यस्ता अभिकर्ताहरूभन्दा निकै भिन्न छ। उनी आफैंले आफ्नै मनको स्वतन्त्र निर्णयले जीवन बीमाको महत्त्व र सम्भावनाबारे अध्ययन तथा अनुसन्धान गरी जीवन बीमा कम्पनी खोजर त्यसपछि मात्रै आफ्नै स्वःफूर्त निर्णयले अभिकर्ता पेशामा आबद्ध भएको सुनाउँछिन् ।

 

व्यवसायीक पहुँच र अनुभवले भरीपूर्ण लामालाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो नै तर त्योभन्दा ठूलो आँट, विश्वास र सफल भएरै छाड्ने दृढता पनि उत्तिकै थियो । त्यही दृढताले आज उनलाई आइएमई लाइफको व्यवसायिक तथा टप एजेन्सीको परिचय बनाउन सहयोग पुर्याएको छ ।

जीवनमा आइपरेका हजारौं बाधा, अड्चनलाई आत्मसात् गर्दै यतिबेला आइएमई लाइफ इन्स्योरेन्स महाराजगंज शाखाकी अभिकर्ता लामाले जीवनको सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेकी छिन् । बीमा अभिकर्ता पेशा अँगाल्न जति सजिलो छ व्यवसायिक सफलता प्राप्त गर्न पनि त्यति नै अप्ठ्यारो छ र यस्ता अप्ठ्यारासँग जुध्न उनलाई आइएमई लाइफले निकै सहयोग गरेको छ ।

सानैदेखि पढाईलेखाईमा रुची राख्ने लामाले क्याम्पियन कलेज गहनपोखरीबाट १२ कक्षा र एक्टीभ कलेज बसुन्धाराबाट स्नातक उत्तीर्ण गरेकी हुन् । वैवाहिक सम्बन्धमा बाँधिए पनि उनको व्यवसायिक जीवन अझै स्वतन्त्र र मजबूत रूपले अघि बढ्दै गइरहेको छ ।

शुरूमा श्रीमान–श्रीमती नै मिलेर एउटै व्यवसायलाई हाँकीरहेका थिए । तर विश्वभर नै महामारीका रूपमा फैलिएको कोरोना कालमा अन्यको झैं उनको पनि व्यवसाय नचल्दा आर्थिक समस्या भोग्नु परेको अनुभव पनि उनीसँग छन् । त्यही अप्ठेरो परिस्थितिले नै गेल्मू लामालाई श्रीमान श्रीमती एउटै पेशामा लाग्नु उचित नभएको आभास दिलायो । त्यसपछि उनले फरक कर्मभूमि रोज्ने क्रममा जीवन बीमा कम्पनी हुँदै आइएमई लाइफको दैलोसम्म पुगिन् । नभन्दै कम्पनीले पनि उनलाई स्वागत गर्यो र अभिकर्ता बन्न आवश्यक सबै प्रक्रिया पूरा गरी लाइसेन्स लिएर अभिकर्ता बनेर जीवन बीमा व्यवसायको शुरुवात गरिन् ।

आइएमई लाइफ इन्स्योरेन्सबाट अभिकर्ता पेशा अँगालेकी गेल्मूले केही समयमै सबैलाई चकित पार्ने गरी व्यवसाय भित्र्याउन सफल भइन् । अभिकर्ता बनेपछि आर्थिक वर्ष ०८०/८१ मा नेपाल टप बनिन् । त्यसपछि आइएमई लाइफ भित्रै उनको कार्यक्षमता र चर्चाले शिखर चुम्दै गयो ।

सोही क्रममा सन् २०२५ मा आइएमई लाइफ इन्स्योरेन्सको एकमात्र सीओटी लक्ष्य पूरा गर्न सफल अभिकर्ता बनिन् । त्यसपछि पनि उनको व्यवसाय संकलन गर्ने क्रम रोकिएन गत वर्षको नेपालभरीबाट दोस्रो स्थान हाँसिल गरिन् भने सन २०२६ को एमडीआरटी लक्ष्य समेत हाँसिल गरिसकेकी छिन् ।

कम्पनीको सर्वाधिक ठूलो एभरेष्ट क्लबमा समेत समावेश भएर लामाले कम्पनीको इतिहासमा नयाँ आयाम थपिन् । कम्पनीले अभिकर्ताको हौसला र कार्यक्षमता बढाउन समयसमयमा गर्ने गरको तालिम, गोष्ठी र समारोहहरूमा सहभागी हुँदै त्यस्तो कार्यक्रमहरूमा साझा गरिने संघर्षबाट सिक्दै व्यवसायमा आक्रामक रूपले अघि बढिरहेकी छिन् । कम्पनीले ल्याएका विभिन्न व्यवसायिक योजनामा छनौट भएर कैयौं पटक विदेश भ्रमण समेत गरिसकेकी छिन् ।

उनी आइएमई लाइफ इन्स्योरेन्सकी अभिकर्ता मात्र नभएर आमा बुवाको लागि एक असल छोरी र श्रीमानका लागि एक असल तथा जिम्मेवार श्रीमती पनि बन्न सफल भएकी छिन् । ‘आफ्नो घरपरिवारसँग दुःख सुख बिताउँदै कसैको करकाप सहनु नपर्ने र कुनै लगानी गर्नु नपर्ने, स्वतन्त्र रूपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो त्यसले नै मलाई यसमा आकर्षित बनाएको हो। यसमा साम दामका साथै इज्जत पनि छ ।’

घर परिवार र श्रीमानको राम्रो साथ सहयोगले आइएमई लाइफमा चम्किरहेकी गेल्मू लामा अभिकर्ता पेशाप्रति गौरवान्वित महसूस गरेको अनुभव सुनाउँछिन् । उनी चार वर्षको अवधिमा सयौं मानिसको बीमा गर्न सफल भएकी छिन् । उनले भनिन्, ‘अभिकर्ताहरूले आम नागरिकलाई उनीहरूको क्षमता तथा आयस्रोतको मुल्यांकनका आधारमा बीमा पोलिसी बिक्री गर्न आवश्यक छ । एकचोटीको मात्र नभएर दीर्घकालीन सोचेर पोलिसी बेच्नु पर्छ ।’

आइएमई लाइफमा प्रवेश गरेसँगै गेल्मू लामाको जीवनमा आमूल परिवर्तन आएको छ । शुरूमा मानिसहरूसँग कुरा गर्दा समेत खुलेर बोल्न लजाउने उनी अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले काठमाडौं तथा देश–विदेशमा रहेका नागरिकहरूको बीमा गरेर जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*