हिमालयन एभरेष्टमा बीमा गरिएको सेल्स बेरीको बिल बीमा कम्पनीमा, क्यास ब्याकको नयाँ फण्डा

१० मंसिर २०८२, बुधबार १४:११

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यास ब्याकलाई व्यापक अभियानको रुपमा सञ्चालन गरेर व्यवसाय भित्राएको पाइएको छ ।

अस्वस्थ प्रतिस्पर्धामा उत्रँदै सो कम्पनीले दर्जनौं कम्पनीहरुसँग कर्मचारी खर्च, खाजा खर्च, अतिथि सत्कार खर्च, बिज्ञापन खर्चको नाममा क्यास ब्याक गर्ने गरेको पाइएको छ।

बीमापोष्टलाई प्राप्त सूचना अनुसार सेल्सबेरी नामक सपिङ सेन्टरलाई समेत विज्ञापनको बिल पेश गर्न लगाई बीमा शुल्कमा क्यास ब्याक अफर दिएको खुलेको हो ।

तोकिएको न्यूनत्तम बीमाशुल्क दर (ट्यारिफ रेट) मै बीमालेख जारी गरेपनि सुटुक्क बीमितलाई रकम फिर्ता दिने प्रवृत्ति कम्पनीभित्र पछिल्लो समय बढी मात्रामा दिन थालेको छ। बीमा प्राधिकरणको अस्थिर अध्यक्ष नियुक्ति प्रकरणको फाइदा उठाउदै कम्पनीले विभागीय प्रमुखहरुलाई पनि बीमा प्राधिकरणको नियम विरुद्ध काम गर्न लगाउदै आईरहेको समेत पाइएको छ।

प्राप्त सूचना अनुसार सेल्स बेरीले हिमालयन एभरेष्टमा बिज्ञापन डिस्प्ले गर्न दिए बापतको बिल पेश गरेर भुक्तानी समेत लिइसकेको छ । बीमा शुल्क लिने र विभिन्न नाममा सोही कम्पनीलाई फिर्ता दिने कार्यलाई क्यास ब्याक भनिन्छ ।

नेपालको प्रचलित कानुन बमोजिम बीमा शुल्कमा क्यास ब्याक दिने गैर कानुनी धन्दा हो । प्रभावकारी नियमन हुन नसक्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स जस्तै प्रायः सबै बीमा कम्पनीहरुले क्यास ब्याक धन्दा चलाइरहेका छन् ।

कम्पनीले प्राधिकरणको नियम विपरित अवैध ‘क्यास ब्याक’ लेनदेन गर्ने गरेको पाइएको छ। कम्पनीले यसअघि पनि क्यास ब्याक का लागि दिइने खर्चको रकम विज्ञापन र अन्य विविध कारण खुलाएर विभिन्न शिर्षकमा छुटाएको पाइएको छ। ‘क्यास ब्याक’ को समस्याको कारण पर्याप्त पुनर्बीमा पनि प्रभाव पर्न सक्छ ।

कम्पनीमा निरीक्षणका क्रममा बिल किन बढी आयो भनेर सोध्दा गेस्टलाई खुवाएर तथा अन्य कारण कुरा भनेर जवाफ दिने गरेको पाइएको छ। तर, बिलहरूको स्वरूप, क्रमसंख्याको निरन्तरता, मिति र नम्बरको मिलान हेर्दा क्यासब्याक भएको मान्न सकिने आधार पर्याप्त मात्रामा फेला परेको बिषयमा पनि कम्पनीले बीमा प्राधिकरणका उच्च अधिकारीहरुसँगको मिलोमतोमा मिलाँउदै आईरहेका छन् । लबिम महल, सेल्स बेरी मात्रै नभई कम्पनीले गर्ने गरेको अधिकांश बीमामा क्यास क्याक देखिएको छ।

कम्पनीले प्रिमियम तय भएपछि बीमा गराउने पार्टीलाई कुनै पनि छुट वा कमिसन दिन नपाउने भए पनि पछिल्लो समयमा व्यवसाय तान्नको लागि बीमा प्राधिकरणको नियम विपरित कमिसन दिने गरेको गुनासो प्राधिकरणमा परेको थियो । तर प्राधिकरण भने यो बिषयमा मौन बसीरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*