पहिलो त्रैमासमा ३४ प्रतिशतले बढ्यो निर्जीवन बीमा दाबी भुक्तानी, सबैभन्दा बढी तिर्नेमा सलिको र शिखर इन्स्योरेन्स

१० मंसिर २०८२, बुधबार १४:०१

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ६९ करोड १० लाख रुपैयाँको दाबी भुक्तानी गरेका छन्। गत आवको तीन महीनामा ४ अर्ब २४ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा त्यसको तुलनामा यस वर्ष भने ३४.१९ प्रतिशत दाबी भुक्तानी बढेको हो।

यस वर्ष भदौ २४ मा भएको जेनजी आन्दोलनको क्रममा देशैभरीका विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। सरकारी तथा निजी कार्यालयदेखि नेताहरूका घर, नेताहरूसँग सम्बन्ध जोडिएका होटल तथा अन्य व्यवसायहरू, सवारी साधनमा समेत व्यापक आगलागी र तोडफोड भएका कारण पनि दाबी भुक्तानी बढेको हो। त्यसैगरी गत असोजको १९ र २० गते देशभर अविरल वर्षाका कारण आएको बाढी पहिरोले पनि व्यापक क्षति पुर्याएका कारण दाबी भुक्तानी बढेको देखिन्छ।

कुन कम्पनीको दाबी भुक्तानी कति?
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सर्वाधिक १ अर्ब ८ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ। दोस्रोमा शिखरले ६८ करोड २ लाख रुपैयाँ, तेस्रोमा एनएलजीले ६४ करोड २३ लाख रुपैयाँ, चौथोमा सिद्धार्थ प्रिमियरले ५४ करोड ६० लाख रुपैयाँ र पाँचौमा नेको इन्स्योरेन्सले ५२ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ।

त्यसैगरी आईजीआई प्रुडेन्सियलले ४८ करोड ३० लाख रुपैयाँ, सानिमा जीआईसीले ३३ करोड ७६ लाख रुपैयाँ, यूनाइटेड अजोडले ३३ करोड ६५ लाख रुपैयाँ, हिमालयन एभरेष्टले ३२ करोड ९३ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले २३ करोड ३५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १८ करोड २३ लाख रुपैयाँ, नेशनलले १५ करोड ४७ लाख रुपैयाँ, प्रभुले १० करोड ७६ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ।

वृद्धिदरका आधारमा
वृद्धिदरका आधारमा हेर्ने हो भने सलिकोको सर्वाधिक १४०.७९ प्रतिशत, सानिमा जीआईसीको १२४.६६ प्रतिशत, एनएलजीको ८१.०७ प्रतिशत, नेकोको ६५.१० प्रतिशत, नेपालको ३६.५९ प्रतिशत, हिमालयन एभरेष्टको ३५.०६ प्रतिशत, सिद्धार्थ प्रिमियरको २९.६९ प्रतिशत, ओरियन्टलको २३.८३ प्रतिशत, प्रभुको १३.५८ प्रतिशत र शिखरको ५.५६ प्रतिशतले दाबी भुक्तानी वृद्धि भएको छ।

यता ४ वटा कम्पनीहरूको दाबी भुक्तानी बढेको घटेको देखिएको छ। जसमा यूनाइटेड अजोडको ३.६१ प्रतिशत, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको ५.८१ प्रतिशत, नेशनल इन्स्योरेन्सको ८.४५ प्रतिशत र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २८.२० प्रतिशतले दाबी भुक्तानी घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*