त्रिबिमै फेक पिएचडी देखाएर नियुक्ती लिएका ४ जना प्राध्यापक विरुद्ध भ्रटाचारको मुद्दा दायर

१० मंसिर २०८२, बुधबार १६:५९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना प्राध्यापक र एक सह–परीक्षा नियन्त्रक गरी चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरको सहण्परीक्षा नियन्त्रक पदको छनोट तथा नियुक्ति प्रक्रियामा अनियमितता र बदनियतपूर्ण कार्य गरेको अभियोगमा आयोगले मंगलबार ४ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।

आयोगले मुद्दा दायर गरेका प्रतिवादीहरूमा प्रा.डा. जया लक्ष्मी प्रधान (संयोजक, छनोट समिति तथा प्राध्यापक, पद्म कन्या क्याम्पस),  प्रा.डा. मोतिलाल शर्मा (सदस्य, छनोट समिति तथा प्राध्यापक, त्रि.वि. रसायन शास्त्र विभाग), प्रा.डा. मेघराज पोखरेल (सदस्य, छनोट समिति) र  डिल्लीराम प्रसाई (सह-परीक्षा नियन्त्रक तथा त्रि.वि. का सह-प्राध्यापक) रहेका छन् ।

अख्तियारको अनुसन्धान अनुसार, सह-परीक्षा नियन्त्रक पदका लागि आवेदन दिँदा डिल्लीराम प्रसाईले आफूसँग नभएको योग्यता देखाएर नियुक्ति लिएका थिए। प्रसाईले आफूलाई ‘डाक्टर’ उपाधि प्राप्त भइसकेको भनी झुटो विवरण पेश गरेको अख्तियारको भनाइ छ। उनले आफ्नो बायोडाटा र शैक्षिक योग्यताको फारममा पीएचडी उपाधि प्राप्त गरिसकेको उल्लेख गरी सो वापत पाइने ८ (आठ) अंक जोड्न लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानमा खुले अनुसार, प्रसाईले आवेदन दिँदा उनको विद्यावारिधिको प्रक्रिया पूरा भइसकेको थिएन। उनले विद्यावारिधि सम्पन्न नभएको तथ्य लुकाई सो बापतको अंक प्राप्त गरी मेरिट लिस्टको १ नम्बरमा नाम निकाल्न सफल भएका थिए। उनले ‘डा.’ लेखिएका विभिन्न सेमिनारका प्रमाणपत्रहरू पेश गरेर भ्रम सिर्जना गरेको आयोगको ठहर छ।

अख्तियारले छनोट समितिका तीनै जना पदाधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा कैद र जरिवानाको माग गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*