नेपाल बीमा प्राधिकरणका पदाधिकारी तथा कर्मचारीको सेवा–सुविधा कति छ ?

११ मंसिर २०८२, बिहीबार १६:४७

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका पदाधिकारी तथा कर्मचारीको सेवा–सुविधा बीमा ऐन अनुसार निर्धारण गरिएको छ ।

पदाधिकारीको पारिश्रमिक र सुविधा
बीमा ऐन, २०७९ को दफा १० मा सञ्चालक समितिका सदस्यको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने व्यवस्था रहेको छ । सञ्चालकहरुको बैठक भत्ता तथा अन्य सुविधा सम्बन्धमा सञ्चालक समितिबाट निर्णय गरी नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति–सहमति पश्चात कार्यान्वयन गरिने व्यवस्था रहेको छ ।

सञ्चालक समितिको बैठक भत्ता, मासिक टेलिफोन र इन्टरनेट खर्च तोकिएको छ । उक्त ऐनको दफा १० मा सञ्चालक समितिका अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने व्यवस्था रहेको छ । अध्यक्षको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धमा सञ्चालक समितिबाट निर्णय गरी नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति–सहमति पश्चात कार्यान्वयन गरिने व्यवस्था रहेको छ ।

कर्मचारीहरुको तलब तथा सेवा सुविधा
नेपाल बीमा प्राधिकरणका कर्मचारीहरूको सेवा सुविधाको लागि बीमा समिति कर्मचारी सेवा शर्त विनियमावली, २०६८ कार्यान्वयनमा रहेको छ । उक्त विनियमावलीले प्राधिकरणमा कार्यरत कर्मचारीले पाउने तलब, भत्ता र आर्थिक सुविधाहरुको सम्बन्धमा देहायबमोजिम व्यवस्था गरेको छ ।

(क) बिदा, तलब एवं महङ्गी भत्ताः– विनियमावली अनुसार उक्त प्राधिकरणका कर्मचारीले सार्वजनिक बिदा, भैपरी आउने तथा पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, क्रिया बिदा, अध्ययन बिदा, असाधारण बिदा, प्रसूति स्याहार बिदा, विशेष बिदा, पर्यटन भ्रमण बिदा (१५ दिनको तलब सहित), राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थामा सेवा गर्न बिदा लगायतका बिदाहरु पाउने व्यवस्था छ।

कर्मचारीले आफूले पकाएको घर बिदा साठी दिनसम्म राख्न पाउने सोभन्दा बढी सञ्चित बिदा बापत एक वर्षमा एक महिनाको तलब बराबरको रकम भुक्तानी दिने व्यवस्था छ । प्राधिकरणका कर्मचारीको तलब भत्ता समितिले तोकेबमोजिम हुने, एक तलब भत्ता पुनरावलोकन समिति रहने, जसले उपभोक्ता मूल्यसूचीका आधारमा महङ्गी भत्ता सिफारिश गर्ने, उपभोक्ता मूल्य सूचीको ७५ प्रतिशत रकम भत्ताको रुपमा दिइने र २५ प्रतिशतभन्दा बढ भएपछि २५ प्रतिशत तलबमा समायोजन गरी बाँकी मात्र भत्ताको रुपमा दिने व्यवस्था रहेको छ । कर्मचारीले एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्च पाउने व्यवस्था छ ।

(ख) वीमा, औषधि उपचार र उपदानः– विनियमावली अनुसार प्राधिकरणले स्वास्थ्य वीमा गर्ने, सोही वीमाबाट स्वदेश विदेशमा उपचार गर्दा लाग्ने रकम व्यहोरिने र नपुग भएमा प्राधिकरणले उपचार खर्च प्रदान गर्ने उल्लेख छ । परिवारको स्वास्थ्य उपचार गर्ने प्रयोजनको लागि समितिले तोकेबमोजिम वीमा गरिने उल्लेख छ । स्थायी कर्मचारीमध्ये अधिकृतस्तरका कर्मचारीलाई प्रतिवर्ष खाइपाई आएको डेढ महिनाको तलब र सहायकको लागि प्रतिवर्ष खाइपाई आएको २ महिनाको तलब बराबरको रकम औषधि उपचार खर्च दिने व्यवस्था छ ।

व्यक्तिगत दुर्घटना भएमा रु.३ लाख बराबरको बीमा हुने उल्लेख छ। सावधिक जीवन बीमा बापत तीस वर्ष पुरा भएपछि वा ५८ वर्ष उमेर पुगेर अवकाश हुँदा पदाधिकार रहेको पदको शुरु तलबमानले ७ वर्षको तलब बराबरको वीमाङ्क हुने गरी बीमा गरिने व्यवस्था रहेको छ । विनियमावली अनुसार प्राधिकरणका पाँच वर्षदेखि दश वर्षसम्म सेवा अवधि पुगेको कर्मचारीले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब, दश वर्षदेखि पन्ध्र वर्षसम्म सेवा अवधि भएको कर्मचारीले प्रत्येक वर्षको निमित्त आखिरी डेढ़ महिनाको तलब, पन्ध्र वर्षभन्दा बढी बीस वर्षभन्दा कम सेवा अवधि पुगेको कर्मचारीले प्रत्येक वर्षको दुई महिनाका तलब, बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि पुगेको कर्मचारीले प्रत्येक वर्षको निमित्त तीन महिनाको तलब उपदान बापत भुक्तानी गरिने व्यवस्था छ ।

ग) पोशाक, टेलिफोन, परिवहन, खाजा खर्च र अतिरिक्त समय भत्ताः– विनियमावली अनुसार अधिकृतस्तर विशिष्टलाई मासिक रू. १ हजार र अधिकृत प्रथम तहका लागि रू. ५ सय रुपैंयाँ टेलिफोन सुविधा दिने उल्लेख छ । सबै तहका कर्मचारीलाई पोशाक बापत रू. दश हजार रुपैंयाँ पाउने व्यवस्था छ । आफै किरिया बस्नु परेमा रू. २५ हजारसम्म सेवा अवधिभर २ पटक किरिया खर्च पाउने उल्लेख छ। परिवहन सुविधा बापत कार्यकारी निर्देशक र अधिकृत प्रथमसम्मलाई गाडी सुविधा दिने, अधिकृत तहलाई उपलब्ध भएसम्म मोटरसाइकल र द्वितीय श्रेणीको लागि १६ लिटर तथा अधिकृत तृतीय श्रेणी १२ लिटर पेट्रोल उपलब्ध गराउने व्यवस्था छ । सवारी साधन उपलब्ध गराउन नसकिएमा मासिक रू.६ सय दिने विनियमावलीमा उल्लेख छ ।

खाजा खर्च बापत दैनिक हाजिर गरेका दिनको दैनिक रू.१०० र कार्यालय समय अघि वा पछि काम गरे बापत कर्मचारीको लागि एक दिनमा कम्तीमा २ घण्टाभन्दा बढी काम गरे बापत खाजा भत्ता स्वरुप प्रतिघण्टा निजले खाइपाई आएको तलबको डेढीका दरले हुन आउने रकम अतिरिक्त समय भत्ता दिइने व्यवस्था छ ।

(घ) कल्याण कोष, शैक्षिक वृत्ति, वार्षिकोत्सव भत्ता र कार्यसम्पादन प्रोत्साहनः– विनियमावली अनुसार स्थायी कर्मचारीका छोराछोरी बढीमा २ जनासम्मलाई १६ वर्ष नपुगेसम्म प्रति सन्तति रू.१,२०० का दरले शैक्षिक भत्ता दिने, कर्मचारीको मृत्यू भएमा अठार वर्ष उमेर नपुगेसम्म अधिकृतस्तरको लागि रू.२,४०० र सहायकको लागि रू.१,८०० शैक्षिक वृत्ति दिने व्यवस्था छ। कर्मचारीको लागि एक कर्मचारी कल्याण कोष खडा गरिने र सो कोषमा स्थायी कर्मचारीको हकमा प्रतिवर्ष २ महिनाको तलब बराबरको रकम जम्मा गरिने र अवकाश कोष सम्बन्धी कार्यविधिमा उल्लेख भए अनुसारको रकम कर्मचारी कल्याण कोष बापत भुक्तानी दिने उल्लेख छ । दैवी प्रकोप वा अन्य कारणले सम्पत्ति नोक्सानी भएमा बढीमा रू.५० हजारसम्म प्रदान गरिने व्यवस्था छ ।

साथै प्रत्येक महाशाखा, शाखाको अलग– अलग कार्यसम्पादनमा आधारित प्रमुख सूचकहरुको आधारमा औसत ८० प्रतिशत कार्यसम्पादन भएमा शुरु तलबको ५० प्रतिशतसम्म अध्यक्षले प्रोत्साहन भत्ता प्रदान गर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको वार्षिकोत्सव अवसरमा वार्षिकोत्सव भत्ता प्रत्येक कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने उल्लेख छ ।

(ङ) सापटी सुविधाः– विनियमावली अनुसार प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीहरुलाई तीन वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई घर निर्माण वा घर निर्माणको लागि जग्गा खरिद गर्न, सवारी साधन खरिद गर्नका लागि सापटी कोष खडा गरिने र उक्त कोषमा समितिले तोकेबमोजिमको रकम जम्मा हुने व्यवस्था छ ।

घर निर्माणका वा जग्गा खरिदका लागि कर्मचारीलाई खाइपाई आएको बढीमा १० वर्षको मासिक तलब बराबरको रकम वा रू. ३५ लाखमा जुन घटी हुन्छ सो बराबरको रकम, घर मर्मत बापत खाइपाई आएको ३ वर्षको रकम बराबरको रकम अधिकृतको हकमा रू. पाँच लाख र सहायकको हकमा रू. ४ लाखमा बढी नहुने गरी सापटी दिने व्यवस्था छ । यसैगरी छोराछोरीको विवाह तथा सामाजिक कार्यको लागि १ वर्षको तलब बराबरको रकम र सवारी साधनको लागि रू. १ लाख ५० हजारमा नबढने गरी सापटी दिइने व्यवस्था रहेको छ ।

(च) सेवा शर्तमा परिवर्तन नहुनेः– विनियमावली अनुसार कुनै पनि कर्मचारीलाई निजको नियुक्ति
हुँदा तत्काल लागू रहेको तलब भत्ता, उपदान र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरुमा निजको सहमति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिर्वतन गरिने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*